पोखरा
स्थानीयको अवरोधका कारण ५ दिनदेखि नउठेको पोखरा महानगरको फोहोरमैला आइतबारदेखि उठाउन थालिएको छ ।
आइतबार बिहानैदेखि डोजरको सहयोगमा मुख्यबजार क्षेत्रका फोहोर उठाइएको हाे ।
संकलित फोहोर भने ल्यान्डफिल साइट क्षेत्रका स्थानीयको अवरोध जारी रहेकाले त्यहाँ नलगेर हाललाई गाडीमै राखिएको महानगरले जनाएको छ ।
स्थानीयसँग अझै वार्ता नमिलेकाले फोहोर संकलन गरेर गाडीमै राखिएको महानगर सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।
‘सडकका फोहोर आजैदेखि उठाउन सुरु भयो । तर, त्यो गाडी लामेआहाल पुगेको छैन,’ उनले भनिन्, ‘सबै फोहोर उठिसकेको छैन । केही मुख्य क्षेत्रको सडकमा फालेको फोहोरमात्रै उठाइएको हो ।
शाखा प्रमुख बरालका अनुुसार आइतबार पोखराका न्युरोड, नयाँबजार, पृथ्वीचोक, चिप्लेढुंगालगायत मुख्य बजार क्षेत्रका सडकमा थुप्रिएका फोहोरमात्रै उठाइएको हो । आइतबार बिहान ४ गाडी फोहोर संकलन गरिएको छ ।
६ महिनाका लागि अस्थायी रुपमा फोहोर फाल्ने, फोहोर विसर्जन गरिसकेपछि माटोले पुर्नेलगायत सहमति भए पनि लागू नभएको भन्दै स्थानीयले बुधबारबाट फोहोर फाल्न रोक लगाएका थिए ।
प्रकाशित मिति २०८० साउन १४ गते आइतबार १२:१४




