२०८३ असोज २३ गते शुक्रबार

बुढेसकालको सहारा सहकारीले डुबाएपछि…

बुढेसकालको सहारा सहकारीले डुबाएपछि…

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १७ गते बुधबार ०२:२९

आफन्तको रेखदेखमा बाँचिरहेकी उनले सहकारीमा ३ लाख ५५ हजार रुपैयाँ बचत गरेकी थिइन् । राम्रो व्याज पाउने आशमा उनले बचत गरेकी हुन् ।

पोखरा

विष्णुमाया काफ्ले लौरी टेकेर सिर्जनाचोकस्थित कर्मा भवनको दोस्रो तलामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा बेलाबेला धाइरहन्छिन् । सहकारीको प्रवेशद्वारमा भोटे ताल्चा ठोकिएको छ । यो दृश्यले उनको मन भतभती पोल्छ ।
सहकारीमा बचत गरेको रकम बद्मास सञ्चालक र कर्मचारीले झ्वाम पारेपछि उनले बुढेसकालको सहारा गुमाएजस्तै भएको छ ।

सहारा दिने न छोराछोरी न श्रीमान । आफन्तको रेखदेखमा बाँचिरहेकी उनले सहकारीमा ३ लाख ५५ हजार रुपैयाँ बचत गरेकी थिइन् ।

राम्रो व्याज पाउने आशमा उनले बचत गरेकी हुन् । ‘त्यही ब्याजले बाँचुञ्जेल दुइ छाक हातमुख जोडुला, दुख असजिलो टारुला’, उनको विश्वास थियो । तर, सोचे जस्तो कहाँ हुन्छ र ? सहारा बन्ला ठानेर विश्वास गरेको सहकारीले त उल्टै लौरी भाँचिदिएको छ ।

‘बुहारीकहाँ यहाँबाट पैसा उठाउन जान्थे । तिनिहरुले ब्याज थुप्रो आउँछ भन्देछन् । अनि उनले (बुहारी) मलाई भनिन् र त्यसैको द्वारबाट राखेको’, गहभरी आँसु लिएर विष्णुमायाले भनिन्, ‘मेरो कोही छैनन् । न छोराछोरी न बूढो न सम्पत्ति । बाँच्ने आधार त्यत्ति न हो ….।’ पैसा नभएपछि कसरी बाँच्ने टुंगो नभएको उनले सुनाइन् ।

नालामुखकी विष्णु गुरुङ मुनाकर्मीले रेष्टुरेन्ट चलाउथिन् । सहकारी सञ्चालक र कर्मचारीले बारबार आग्रह गरेपछि रेष्टुरेन्टबाट हुने मुनाफा इमेज सहकारीमा दैनिक बचत गर्न थालिन् ।

सहकारीमा उनको १८ लाख रुपैयाँ बचत पुगेको थियो । जबजब उनलाई आवश्यक परेको बेलामा रकम सहकारीले फिर्ता गर्न बनाइरहेको हुन्थ्यो । सहकारी संकटमा छ उनलाई शंकासमेत भएन ।

जग्गा किन्नलाई बैशाख ११ गते सहकारीमा पुग्दा त उनी छाँगाबाट खसे जस्तै भइन् । किनकी सहकारी डुबेको हल्लाले बचतकर्ताको भीड लागेको थियो । नभन्दै त्यसको केही दिनमा सहकारीका अध्यक्ष देवकुमार नेपाली र प्रबन्धक दीपक पौडेल फरार भए ।

उनलाई अहिले बच्चाको स्कुल फि तिर्न समेत धौं परेको छ । ‘एक एक गरेर खाइ नखाइ जोगाएको पैसा हो । चोरी डकैती गरेर ल्याएको पैसा होइन । त्यै पैसाबाट छोराछोरी पढाउने हो । औषधि खानुपर्छ, घरव्यवहार चलाउनुपर्छ’, विष्णुले भनिन् ।

उनले भागेर समस्याको समाधान नहुने भन्दै फरार सञ्चालक र कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेकी छन् । ‘जसरी हाम्ले तपाईलाई विश्वास गरेर पैसा राखेका थिएम । त्यसरी नै तपाईले जनतालाई विश्वास दिलाउनपर्छ । लुकेर समाधान हुँदैन । कसरी हुन्छ समस्याको समाधान गर्न लाग्नुभो भने हामी पनि तपाईलाई के समस्या परेको हो साथ दिन तयार छौं’, उनको अनुरोध छ ।

इमेज सहकारीले १६ प्रतिशत ब्याजको लोभ देखाएर विष्णुमाया काफ्ले र विष्णु गुरुङ जस्ता थुप्रै बचतकर्तालाई आकर्षित गरेको थियो ।

तर, अहिले सहकारीका अध्यक्ष देवकुमार नेपाली, म्यानेजर दीपक पौडेल लगायत सञ्चालकहरु सहकारीको रकम हिनामिना गरेर फरार भएपछि बचतकर्ताको बिचल्ली भएको छ ।

गास घटाएर बचत गरेको रकम फिर्ता माग्दै बचतकर्ता कहिले प्रहरीकहाँ, कहिले प्रशासनमा त कहिले पोखरा महानगरपालिका धाइरहेका छन् ।

२०६८ सालमा पोखराको न्युरोडमा देवकुमारले इमजे सहकारी खोले । त्यो भन्दा अगाडि उनी पोखराकै सूर्यदर्शन सहकारीमा उपाध्यक्ष भएका थिए । अध्यक्ष बनाउन सञ्चालक समितिका सदस्य तयार नभएपछि उनले सूर्यदर्शनकै कर्मचारी लिएर इमेज सहकारी खुलेका हुन् ।सिर्जनाचोकमा देवकुमारले आफ्नै भवन ठडाएपछि सहकारी त्यहीं सर्यो ।

देवकुमारले नेपाली मात्रै होइन तिब्बतीयन नागरिकको समेत रकम कुम्ल्याएका छन् । पृथ्वीचोक, हेमजा र छोरेपाटनमा बस्ने तिब्बतीयनलाई उनले श्रीमति छेलामार्फत सहकारीमा जोडेर बिचल्ली पारे । देवकुमारकी श्रीमति छेला तिब्बतीयन हुन् ।

हेमजामा बस्दै आएको तिब्बतीयन शरणार्थी टासी वाङ्दुले देवकुमारसँगको पूरानो चिनजान र छेला आफ्नै जातको भएकाले बैंकमा राखेको रकम झिकेर इमेज सहकारीमा राखेको बताए । उनले झन्डै ६० लाख रुपैयाँ बचत गरेका थिए । ९ जना छोराछोरी र आफ्नै कमाइसमेत उनले सहकारीमा जम्मा गरेका हुन् ।

‘अरु बैंकमा भएको पैसा पनि झिकेर यहीं राखेको थियो आफ्नै मान्छे भनेर’, दुखेसो पोख्दै उनले भने । सहकारीको उद्घाटनसमेत तीब्बतीयनको विश्वास जित्न शाक्य गुरुमार्फत गरेको वाङ्दुले बताए । ‘बुद्ध धर्मको गुरु ल्याएर उद्घाटन गरेपछि यस्तो बेइमान गर्छ जस्तो मनमा नसोचेको, पूरा विश्वास गरेको आखिर बिचल्ली पारेको छ’, उनले भने ।

पोखरामा इमेज सहकारी पीडितले समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । समितिका अध्यक्ष हरिबहादुर खत्रीका अनुसार पोखरामा मात्रै करिब १ हजार बचतकर्ता रहेको अनुमान छ ।

जिल्ला कार्यालय कास्कीमा भने ४०८ जनाले बचत फिर्ताको माग गर्दै सहकारी ऐन अन्तर्गतको कसूरमा जाहेरी दिएको सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए । ६५ करोड ५९ लाख ८२ हजार ५९ रुपैयाँ ठगी गरेको पीडित बचतकर्ताले दिएको उजुरीबाट खुलेको उनले जानकारी दिए ।

‘सहकारी खानतलासी गरी कसूरसँग सम्बन्धित प्रमाण लाग्ने कम्पयुटर लगायतका मेसिनरी औजार र कागजात बरामद गरिएको छ’, डिएसपी विकले भने, ‘सहकारीका अध्यक्ष चित्रबहादुर भण्डारी र सञ्चालक सदस्य शक्ति किसानलाई बाग्लुङ कारागारबाट झिकाइ वयान लिने काम भइरहेको छ ।’

बचतकर्ताको निवेदन परेपछि वैशाख २८ गते पोखरा महानगरपालिकाको सहकारी शाखामा देवकुमारले बचकर्ताको रकम फिर्ता गर्ने लिखित सहमति गरेका थिए । ढोरपाटन नगरपालिकाका मेयर समेत देवकुमार ५ जेठदेखि भने फरार छन् । पोखरामा मात्रै नभएर बाग्लुङको बाग्लुङ बजार, गल्कोट र बुर्तीबाङको इमेज सहकारीमा बचत गरेका बचतकर्ताकोसमेत बिचल्ली छ ।

सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै बाग्लुङका १ हजार ४ सय ८१ जना बचतकर्ताले सञ्चालक, कर्मचारीसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका छन् ।

इमेज सहकारी पोखराका अध्यक्ष चित्रबहादुर भण्डारी, बाग्लुङ शाखाका प्रबन्धक शक्ति किसान र लेखा प्रमुख लालमती रोका प्रहरीले पक्राउ गरेको छ । अदालतको आदेशमा तीनै जना पुर्पक्षका लागि थुनामा छन् । बाग्लुङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बाहेक थप १२ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि हालसम्म उनीहरु पक्राउ पर्न सकेका छैनन् ।

ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका देवकुमार नेपालीले बचतकर्ताको रकम अपचलन गर्दै अनुत्पादक क्षेत्रमा लगानी गरेकाले सहकारी डुबेको उनीसँग नजिकबाट संगत गर्नेहरु बताउँछन् ।

ढोरपाटनका स्थानीयलाई होलिकोप्टमार्फत उद्धार गरेर पोखरा काठमाडौंका अस्पतालसम्म निशुल्क लैजान प्रबन्ध मिलाएर वाहवाही कमाएका उनले बचतकर्ताकै रकमबाट त्यसो गरेको आरोपसमेत लागेको छ ।

 

 

प्रकाशित मिति २०८० साउन १७ गते बुधबार ०२:२९
हजुरको प्रतिक्रिया