सहकारीबाट सामान उठाउनेदेखि जग्गा लिनेसम्म सहमति,
पोखरा
देशैभरि सञ्जाल खडा गरेर रकम उठाएको शिव शिखर सहकारीको पोखरा शाखाका बचतकर्ताले सामान उठाउनेदेखि जग्गा लिनेसम्मको सहमति गरेका छन् भने ११ जना सञ्चालकलाई ८ वर्षसम्म जेल सजायको माग दाबी गर्दै अदालतमा मुद्धा दर्ता गर्ने तयारी भएको छ ।
पोखरामा शिवशिखरले पस्र्याङ र चाउथेमा दुई वटा सहकारी, २ डिपार्टमेन्टल स्टोर र खाद्यन्न सप्लाई गर्ने भन्दै शिव शिखर एग्रो मार्टसमेत चलाउँदै आएको थियो । सहकारीका सञ्चालक केदारनाथ शर्मासहित पुष्पकर मल्ल, अमिशराज भण्डारी र गीता शर्मा पक्राउ परिसकेका छन् ।
शिव शिखरका ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पोखरामा १ हजार जना बचतकर्ताले ५४ करोड २३ लाख ८५ हजार ३६८ रुपैयाँ माग दाबीसहित किटानी जाहेरी दिएका छन् । प्राप्त जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सकेर मुद्धा दर्ताका लागि फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको छ । ११ जनाविरुद्ध ५४ करोड २३ लाख ८५ हजार बिगो र ६ देखि ८ वर्ष जेल सजायको माग दावीसहित मुद्धा दर्ताकोे तयारी भएको हो ।
५ दिनअघि वकिलसहित सञ्चालक केदार शर्माको प्रतिनिधि बनेर डा. विजय भट्टराई, गोपालबहादुर थापा पोखरा आएका थिए । उनीहरु र बचतकर्ताबीच विभिन्न सर्तहरुमा २०८१ सालभित्र सबै बचत रकम फिर्ता गर्ने गरी सहमति भएको हो ।
सहकारीमा १० हजारसम्म बचत हुनेले डिपार्टमेन्टल स्टोरबाट सामान लैजाने सहमति भएको हो । त्यही सहमतिअनुसार पासबुक चेक गरेर बुधबारबाटै १० हजारसम्म बचत हुने सामान लैजान सुरु गरेका छन् ।
कात्तिक १५ देखि १० हजारदेखि १ लाखसम्मका बचतकर्तालाई नगदै फिर्ता दिने लिखित सहमति भएको छ । १ लाखदेखि ५ लाखसम्म माघ १ बाट भुक्तानी दिने सहमतिमा उल्लेख छ । २०८१ वैशाख १ देखि ५ लाखभन्दा माथिकोे भुक्तानी दिने सहमति भएको पीडित संयोजन समिति संयोजक देकराज तिमिल्सिनाले जानकारी दिए । ठूलो रकम बचत गर्नेले जग्गा लिन चाहेमा त्यसको विकल्प पनि दिइएको छ ।
प्रकाशित मिति २०८० साउन १८ गते बिहीबार ०५:५९




