२०८३ साउन २१ गते बिहीबार

दमकल शाखामै खाल्डो खनेर गरिँदैछ पोखराको फोहोरको अस्थायी व्यवस्थापन

दमकल शाखामै खाल्डो खनेर गरिँदैछ पोखराको  फोहोरको अस्थायी व्यवस्थापन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २० गते शनिबार ०२:०४

फोहोर बोकेका गाडी ल्यान्डफिल साइट पुग्न नपाएका कारण बजार क्षेत्रका सडक र चोकमा दुर्गन्ध फैलिन थालेपछि अल्पकालीन रुपमा फोहोर व्यवस्थापनको उपाय खोजिएको सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।

पोखरा

पोखरा महानगरले शनिबारदेखि दमकल शाखामै खाल्डो खनेर अस्थायी रुपमा फोहोर व्यवस्थापन थालेको छ । पोखरा ३२, लामेआहालमा बनाइएको अस्थायी ल्यान्डफिल साइट क्षेत्रका स्थानीयका अवरोधका कारण १० दिनदेखि महानगरको फोहोर उठ्न छाडेको छ ।

फोहोर बोकेका गाडी ल्यान्डफिल साइट पुग्न नपाएका कारण बजार क्षेत्रका सडक र चोकमा दुर्गन्ध फैलिन थालेपछि अल्पकालीन रुपमा फोहोर व्यवस्थापनको उपाय खोजिएको सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।
बरालका अनुसार हाल मुख्य बजार क्षेत्रका फोहोरमात्रै उठाउने काम भइरहेको छ । अस्थायी ल्यान्डफिल साइटमा पुग्न सक्ने अवस्था नरहेकाले हाललाई मुख्य बजार क्षेत्रका फोहोर उठाइएको भए पनि भित्री क्षेत्रका फोहोर भने अझै उठाइएको छैन ।

फोहोर नउठाएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेपछि महानगरले आइतबारबाट मुख्य बजार क्षेत्रका सडकमा थुप्रिएका फोहोर संकलन गरेका गाडी आइतबारदेखि दलकल शाखामा राख्न थालेको हो । तर, ती गाडीसमेत भरिन थालेपछि खाल्डो खनेर अस्थायी व्यवस्थापन गरिएको हो ।

पोखराको न्युरोड, नयाँबजार, पृथ्वीचोकलगायत मुख्य बजार क्षेत्रका फोहोर उठाएर गाडीमै राख्न थालिए पनि अन्य ठाउँको फोहोर भने उठाइएको छैन । पोखरा महानगरले हाल वडा नं। ३२ लामेआहाललाई अस्थायी ल्यान्डफिल साइटका रुपमा प्रयोग गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडूवामा फोहोर फाल्दै आएको थियो ।

महानगरले लामेआहालका बासिन्दासँग गरेको १६ बुँदे सहमति लागू नगरेको, दुर्गन्ध नहटाएको, अन्यत्र विकल्प नखोजेको भन्दै उनीहरुले फोहोर फाल्न रोक लगाएका हुन् । उनीहरुले इच्छा गुरुङको नेतृत्वमा त्यहाँ फोहोर फाल्न नदिन संघर्ष समिति नै बनाएका छन् ।

योजनाबिनै बस्तीको नजिक फोहोर फालिएको भन्दै महानगरविरुद्ध रिट नै दायर भएको छ । टिमुरपाटामा ल्यान्डफिल साइट बनाउनका लागि विस्तृत अध्ययन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न तथा पूर्वाधार निर्माण गर्न महानगरले १० करोड रुपैयाँसमेत विनियोजन गरेको थियो ।

तर, निर्णय भएकै १ वर्षभन्दा बढी बितिसक्दासमेत कार्यान्वयनमा आउन सकेको छैन । स्थानीयलाई रोजगार दिनुपर्नेमा व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङले आफ्नो छोरा र सालो नाता पर्ने २ जनालाई भर्ती गरेको र समितिको नाममा आएको १ करोड रुपैयाँसमेत हिनामिना गरेर गाउँभरि दुर्गन्ध फैलाइरहेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति २०८० साउन २० गते शनिबार ०२:०४

हजुरको प्रतिक्रिया