पोखरा
आन्दोलनरत स्थानीय र पोखरा महानगरबीच बुधबार १० बुँदे सहमति भएपछि बिहीबारदेखि पोखराको फोहोर लामेआहालमा फाल्न सुरु भएको छ । यसअघि महानगरले गरेको सहमति पूरा नगरेको भन्दै स्थानीयले १२ दिनदेखि फोहोर फाल्न रोक लगाएका थिए ।
महानगरसँग स्थानीयले सम्झौता भएको मितिदेखि १८ महिनासम्म फोहोर फाल्न दिने, फोहोर फालिसकेपछि खाडल तत्काल पुर्नुपर्ने, फोहोर वर्गीकरण गर्न नपाइने, फोहोर बिहान ६ बजेदेखि साँझ ४ बजेसम्ममात्रै फाल्न पाइने, क्षेत्रीय बसपार्कको काम तत्काल बढाउनुपर्ने लगायत सहमति गरेका छन् ।
गत पुस १५ गते गरेको १६ बुँदे सम्झौताको पालना नगरेको र ६ महिने समयसीमा सकिएको भन्दै स्थानीयले फोहोर फाल्न रोक लगाएका थिए । उनीहरुले फोहोर फाल्न नदिन संघर्ष समिति नै बनाएर विरोधमा उत्रिएका थिए ।
फोहोर फाल्न नदिन स्थानीय रविन केसी, तिथेन्द्रबहादुर केसी र ब्रजेश गुरुङले गत बिहीबार उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । तर, साउन २१ गते अदालतले उनीहरुको मागबमोजिम आदेश जारी गर्न इन्कार गरिदिएपछि मंगलबार स्कर्टिङ गरेर फोहोर फालिएको थियो ।
प्रकाशित मिति २०८० साउन २५ गते बिहीबार ०६:३५




