२०८३ असोज २४ गते शनिबार

कागबेनीमा गण्डकी प्रदेशले उद्दार, इन्धन र राहतको व्यवस्था गर्ने

कागबेनीमा गण्डकी प्रदेशले उद्दार, इन्धन र राहतको व्यवस्था गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २९ गते सोमबार ०२:०२

बाढी पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायबाट खापसी समन्वय उद्दार तथा राहत सम्बन्धी कार्यमा थप जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा परिचालित हुन मुख्यमन्त्री सुरेन्द्रराव पाण्डेले निर्देशन दिएका छन् ।

पोखरा

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ स्थित कागबेनी बजारमा कागखोलाको बाढीले क्षति पुगेका घर, होटल तथा बस्तीहरु र जोखिममा रहेको नागरिकलाई तत्काल राहत, उद्दार उपलब्ध गराउन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अग्रसरता देखाएका छन् ।

आजै मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको कार्यकारी बैठकले उद्दार तथा राहतको व्यवस्था गर्ने र सहजीकरणका लागि निर्देशन दिने निर्णय गरेको हो । कागबेनीमा सुरक्षा निकायबाट उद्धार तथा राहत कार्यका लागि मेसिनरी उपकरण तथा सवारी साधन उपयोग गनुपर्ने र मुस्ताङमा इन्धनको अभाव भएको कारण ३ हजार लिटर डिजेल म्याग्दीको बेनीबाट मुस्ताङ पठाउने र प्रदेशले भुक्तानी गर्ने निर्णय भएको छ । कागबेनीमा आवश्यक टेन्ट, त्रिपाल र ब्लांकेट उपलब्ध गराउन सहजीकरण गर्ने र जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङबाट माग भइ आएमा प्रदेश गोदाम घरमा रहेका टेन्ट तथा त्रिपालहरु, आवश्यकताअनुसार ब्ल्यांकेट खरिद गरि पठाउने पनि निर्णय भएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यन्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षण लगायतका कार्य गर्न गण्डकी प्रदेश सरकारका सम्बन्धित मन्त्रालयले समन्वय र स्रोत साधनको व्यवस्थापन गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।

बाढी पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायबाट खापसी समन्वय उद्दार तथा राहत सम्बन्धी कार्यमा थप जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा परिचालित हुन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्देशन दिएका छन् । आइतबार राति आएको भेलबाढीले कागबेनी बजार क्षतिग्रस्त बनेको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार कालो लेदोसहितको बाढीले २२ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने अरू घरमा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति २०८० साउन २९ गते सोमबार ०२:०२
हजुरको प्रतिक्रिया