पालिकाको आवश्यकताकै आधारमा प्रदेशले योजना छान्ने मुख्यमन्त्री पाण्डेको आश्वासन
पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आउँदो वर्षदेखि स्थानीय तहकै मागअनुसार योजना निर्माण गर्ने बताएका छन् ।
प्रदेश समन्वय समितिको बैठकमा मुख्यमन्त्री पाण्डेले स्थानीय तहको प्राथमिकता हेरे योजना बनाउने र समन्वय गर्ने प्रतिवद्धता जनाएका हुन् । समितिको बैठकमा स्थानीय तहहरुले प्रदेशले योजना छनोटमा छलफल गर्नुपर्ने बताएसँग आगामी वर्षदेखि सुझावकै आधारमा बजेट ल्याउने जिकिर गरे । स्थानीय तहहरुले बजेट निर्माण गर्नुभन्दा अगाडि स्थानीय तहहरुसँगको छलफल र समन्वयबाट मात्र योजना छान्न माग गरेका थिए ।
गाउँपालिका महासंघकी केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेले प्रदेश र स्थानीय तह मिलेर सँघ सरकारसँग लडाईँ लड्नुपर्ने अवस्था रहेकोमा समन्वय आवश्यक रहेको बताइन् । कावसोती नगरपालिकाका मेयर भीमलाल अधिकारीले प्रदेशले दिने योजना र अधिकार स्थानीय तहसँग बाझिन नदिने बताएका थिए । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले अहिले कतिपय अधिकारका सवालमा फेरि स्थानीय तह र प्रदेशबीच दूरी बढ्न सक्ने देखिएको उल्लेख गरे ।
समितिको बैठकमा संघले ल्याउन लागेको शिक्षा विधेयक संघीयताको मर्मविपरीत रहेको आवाज उठेको थियो भने स्थानीय तहले प्रदेशको वन ऐन पनि सच्याउन माग गरेका छन् ।
प्रकाशित मिति २०८० भदौ ५ गते मंगलबार १२:४५




