पोखरा
बबिता बोहोराको हातमा अचेल सियो र धागो छुट्दैछुट्दैन । घरधन्दाले फुर्सद मिल्यो कि मसिना क्रिस्टलका दानालाई धागोमा उनेर माला बनाउन थालिहाल्छिन् । सियो, धागो र क्रिष्टलका दानासँग उनको प्रेम बडो झागिंएको छ ।
पोखरा महानगरपालिकाले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत क्रिष्टलको चुरापोते बनाउने तालिम दिएपछि उनको फुर्सदिलो समयको सदुपयोग भरपूर भएको छ । घरधन्दा सक्नु, धागोमा दाना गाँस्दै थरीथरीका माला बनाउनु उनको दैनिकी हो ।
सियो धागो र दानासँग आफ्नै सीप जोडिएर बनेका माला अरुको गलामा देख्दा दंग पर्छिन् । थोरै लगानी, घरधन्दा सकेर फुर्सदको सदुपयोग गर्दै लघु उद्यमी बन्ने यात्रामा उनको पाइला लम्किरहेको छ । १५ दिन सिकेको सीपले बबितालाई आत्मनिर्भर बन्ने ऊर्जा दिएको छ ।
‘पहिला बेरोजगार जस्तै थियौं । फुर्सदिलो भएर घरमा बस्थ्यौं’, बबिताले भनिन्, ‘क्रिस्टलको चुरापोचे बनाउने तालिम सिकेपछि सानो लगानीमा काम गर्दैछौं ।’ सीपले उद्यमको यात्रामा डोर्याएपछि आर्थिक आत्मनिर्भरता बढ्दै गएको उनको अनभुवले बोल्छ । ‘श्रीमानले कहिले पैसा पठाउनुहुन्छ र काम गरौंला भनेर बस्नपर्या छैन । अहिले थोरै थोरै भएपनि आफ्नै कमाइले काम चल्छ । दुख परेपनि श्रीमानले हेला गरेपनि गरेर खान सक्छु भन्ने आँट आएको छ’, उनी सुनाउछिन् ।
क्रिष्टलको माला बनाउन बबिताजस्तै महिलाहरुको आफ्नै समूह नै बनेको छ । पोखरा महानगरपालिकाले दिएको तालिम २६ जनाले लिएका थिए । तालिम सकिएपछि उनीहरु अहिले घरधन्दा सकेर मिलेको फुर्सदमा माला गाँसिरहेका भेटिन्छन् ।
पोखरा महानगरपालिका–३३ बागमाराका उनीहरु कहिलेकाहीं एकै ठाउँमा भेला भएर जानेको नयाँ नयाँ डिजाइन एक अर्कालाई सिकाउँछन् । अरुबेला टिकटकलगायत सामाजिक सञ्जाल हेरेर बित्ने दैनिकी अहिले माला गाँसेरै बितेको भूमि अधिकारी बाँस्तोला अधिकारी बताउछिन् ।
कहिलेकसो टिकटक, युट्युब हेर्नैपरे पनि मालासम्बन्धी नै नयाँनयाँ डिजाइन कसरी बनाउने हेर्छन् । त्यसैबाट नयाँ डिजाइन सिक्न घोत्लिन्छन् । ‘कतै घुम्न जाँदा पनि मालाकै डिजाइनमा नजर पर्छ’, उनले भनिन् । आफैंलाई रहर लागेको डिजाइनको माला गाँस्छन् र पहिरिन्छन् । बजारको माग अनुुसारको बनाएर आम्दानी लिन्छन् ।

छोटो समय, थोरै कमाइ तर, सन्तृष्टिको उचाइ भने अग्लिएको छ । उद्यमी बन्ने हुटहुटी बटुलेका बागमाराका यी महिलालाई बजारको भने पीरलो छ । भूमि भन्छिन्, ‘हामीले सामान बनाउन त बनायौं । तर, बेच्ने ठाउँ धेरै भएन । हामीलाई बजारीकरण चाहियो ।’
संघीय सरकारको ससर्त अनुदानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहातमा सञ्चालित कार्यक्रम हो, गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) । यही कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाले गत आर्थिक वर्षमा वडा नम्बर ३३ बरपौवाका महिलालाई तानमा ढाकाको कपडा बुन्ने तालिम दिएको छ ।
यहाँका १६ जना महिलाले ४५ दिनसम्म गाउँमै तानमा ढाकाको कपडा बुन्ने सीप सिके । सीप मात्रै सिकेनन् उनीहरुले त अनुदानमा प्रविधि समेत प्राप्त गरे ।
हिजोआज उनीहरु अक्सर तानमै भेटिन्छन् । ढाकाको कपडा बुनेर धेरथोर आम्दानी गर्दैछन् । उद्यम गरेर आत्मनिर्भर बन्ने स्वप्निल फूल फक्रँदो छ ।
खेती किसानी र घरधन्दा सकेर बचेको समय तानमा धागोको बुट्टा भरिरहेका हुन्छन् । धागोको रेसा रेसा गाँसेर सजिएको बुट्टाले दिलाएको सुखानुभूतिको दाँजोमा माछापुच्छ्रेको चुचुरो पनि अग्लो छैन ।
वरपौवाका महिलाले ढाकाको कपडा बुन्ने सीप सिकेपछि १ मिनेट समय खेरा जान दिएका छैनन् । फुर्सदमा बुनेको ढाकाको माग गाउँमै अधिक छ । ढाकाको कपडासँगै आर्थिक रुपमै सक्षम बन्ने योजना बुनेका छन् ।
सिर्जनशील ढाका लघुउद्यम समूहकी अध्यक्ष दिलमाया भुजेल अहिलेसम्म बुनेको कपडा गाउँमै खोसाखोस भइरहेको बताउँछिन् । फुस्रे खोलाकी सुमिता परियारको पिंढीमा तान छ । उनको सारथी बनेको छ त्यही तान । धेरै समय तानमा बुट्टा भरेर बिताउँछिन् । लेहेंगा, साडी, कुर्था, सलमा आकर्षक बुट्टा भरेर उनले कला र सीपको जादु चलाउदैछिन् ।
बजारमा अति नै माग भएको बुटिक तालिम सुमितालाई पहिल्यै सिक्ने रहर थियो । समय र पैसाको अभावले रहरलाई धकेलिदियो । पोखरा महानगरपालिकाको गरिवी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रमले सुमिताको रहरमा फूलबुट्टा भरिदियो ।

औधि रहर भएको बुटिक तालिम उनले गाउँमै लिन पाइन् । बुटिक तालिम लिएर बुट्टा भर्ने तानसमेत अनुदानमा पाएपछि आत्मनिर्भर बन्ने यात्रामा आफ्नै सीपले उनलाई डोर्याइरहेको छ । विस्तारै लगानी बढाउदै बुटिक व्यवसायमै जम्ने सोच सुमिताको छ । झोला, पछ्यौरा, घलेकमा बुट्टा भरेर घरबाटै बिक्री गरिरहेको उनले बताइन् । ‘एक पटक यो तालिम त सिक्छु भन्ने थियो । त्यसैको लागि तीन महिने सिलाइ तालिम लिएको थिए । अब त दुवै सीपलाई सदुपयोग गरेर केही गर्न सक्छु’, सुमिता भन्छिन्, ‘यही पेशालाई थोरै थोरै लगानी बढाउदै व्यवसाय थाल्नुपर्ला भन्ने सोचेको छु ।’
सुमितासँगै फुस्रेखोलामा बुटिकको सीप १७ जनाले सिकेका छन् । सीप सिकेका अधिकांश आफूलाई तिर्खादै छन् । साथीभाइलाई आफूले बुट्टा भरेको कपडा बेचेर आम्दानीको स्वाद पनि चाख्दैछन् ।
प्रकाशित मिति २०८० भदौ ११ गते सोमबार ०१:०४




