२०८३ साउन २१ गते बिहीबार

राजाले बाघ मारेपछि सिँदुरजात्रा…(तस्बिरहरु)

राजाले बाघ मारेपछि सिँदुरजात्रा…(तस्बिरहरु)

विनोद ढुंगाना

@Public 4K Tv

२०८० भदौ २१ गते बिहीबार ०८:१०

कलाकारको जम्बो टोलीको खर्च धान्न मुस्किल भएकाले नियमित देखाउन समस्या

पोखरा

बाघलाई लठ्ठयाउने तालमा बाजा बज्यो । ढेके ग्वाराहरुले बाघ घेर्न थाले । बाघ फेला परेपछि सेनापतिले बाघ मार्ने अनुमित दिए । बाघ मार्नलाई स्वयंम राजा, रानी, प्रधानमन्त्री, मन्त्री, सुरक्षाकर्मीको उपस्थित थिए । बाघलाई ढेके ग्वाराहरुले खेदीखेदी मारे । बाघ मरेपछि सिँदुर जात्रा गर्दै खुसीयाली मनाइयो ।

बुधबार पोखरा रंगशालामा बाघ मरेको खुसीयालीमा सिँदुरजात्रा गर्दै बाघजात्रा सकिएको छ । पोखरामा २३ वर्षपछि बाघाजात्रा निकालिएको हो । ३ दिनसम्म बाघाजात्रा देखाइयो । बाघजात्रा टोलीले पोखराका विभिन्न ठाउँको परिक्रमा ग¥यो ।

नेवार समुदायमा प्रचलित बाघजात्रा लामो समयपछि देखाइएकाले अन्तिम दिन पोखरा रंगशालाको फुटबल स्टेडियममा हजारौं पोखरेली जात्रा हेर्न आए । जात्रामा जात्रै जात्राको भीड थियो । भक्तपुरबाट घिन्ताङघिसि ल्याएरसमेत प्रदर्शन गरियो ।

परापूर्वकालमा पोखरामा घनाबस्ती थिएन । जंगलबाट बस्ती पसेको बाघले दिनकै घर पालुवा जनावार आक्रमण गरेर निकै सतायो । जनताले राजालाई गुहारेर हिंस्रक बाघ मार्न माग राखे । राजाले सैनिक खटाएर गौंडा ढुकेर बाघ मारेर जनतालाई खुुसी बनाए । त्यसैको खुसियालीमा सिँदुर जात्रा गरेर बाघजात्रा मनाउन थालेको कथन छ ।

पोखरामा २००६ सालदेखि बाघजात्रा निकालिएको जानकारहरु बताउँछन् । तर, नेवार समुदायका अगुवाहरु नै यसमा एकमत छैनन् । कतिपय २०१४ सालदेखि मात्रै सुरु भएको बताउँछन् । पछिल्लो पटक २०५७ सालमा पोखरामा बाघजात्रा निकालिएको थियो ।

राजा, रानी, प्रधानमन्त्री, मन्त्री, सेना, प्रहरी, यमराज, ज्यासीन्यासी, ढेके ग्वाराको भूमिका निर्वाह गर्ने कलाकारसँगै तायाः मचा, कुमारी, लाखे र घोडा नाचको देखाइने भएकाले कम्तिमा पनि १ सय ५० बढी कलाकार चाहिन्छ । कलाकारको जम्बो टोलीको खर्च धान्न मुस्किल भएकाले नियमित देखाउन समस्या भएको बाघजात्रा आयोजक समितिका सचिव सुनील उलकले बताए ।

‘ठूलो संख्यामा कलाकारको आवश्यकता पर्छ । २/४ जनाले चाहेर केही गर्न सकिन्न’, उनले भने, ‘जात्रामा देख्नुभयो कम्तिमा ४ सय जना कलाकार सम्मिलित हुनुहुन्छ । दर्शक त आफ्नो हिसाबले घट्ने बढ्ने होला । ४ सय जनालाई तीन दिनसम्म म्यानेज गर्ने खर्चकै समस्या हुन्छ ।’

अब भने नियमित रुपमा बाघजात्रा देखाउने उलकले बताए । नियमित जात्रा प्रदर्शनका लागि यसपालि आर्थिक संकलन गरिएको छ । १० लाख रुपैंयाँ बढी संकलन भएको उनले जानकारी दिए । कोषलाई वृद्धि गरेर जात्रा नियमित देखाउने उनको भनाइ छ ।

उनले भने, ‘अब प्रत्येक ६ वर्षमा गर्ने हाम्रो योजना छ । यसका लागि सबभन्दा बलियो आर्थिक स्रोत हुन्छ । र, यो जात्राबाट हामीले केही पैसा जोगाएर त्यसलाई फिक्स डिपोजिट गरेर ब्याजबाट अर्को पटक देखाउन सक्छौं कि भन्नेछ’, उनले भने ।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे पनि अब जात्रालाई नियमित गर्नुपर्नेमा सहमत छन् । उनले पहिला बाघ जात्रा नेवारी टोलले स्वतस्फूर्त देखाउने गरेको उल्लेख गरे । बाघजात्रा नेवारको संस्कृति नभइ जात्रा मात्रै भएको उनको भनाइ थियो ।

‘नेवाहरु बढी व्यापार गर्ने भएकाले बर्खामा बिजनेस नहुँदा बाहिरको मान्छे तान्ने उपाय हो’, पालिखेले भने, ‘अहिले २३ वर्षपछि निस्किएछ । हामीले सोचिरहेका छौं नियमित कसरी गर्ने भन्ने कुरामा । तर, यो जात्रा निक्लनुपर्छ ।’

 

प्रकाशित मिति २०८० भदौ २१ गते बिहीबार ०८:१०
हजुरको प्रतिक्रिया