२०८३ साउन २१ गते बिहीबार

जीवको विकास अफ्रिका होइन, दामोदरकुण्डबाट भएको होः जगमान गुरुङ

जीवको विकास अफ्रिका होइन, दामोदरकुण्डबाट भएको होः जगमान गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २४ गते आइतबार ०५:५४

‘...जीवको सृष्टि भएको छ, नेपालमा । नेपालमा कहाँ भोभन्दा गण्डकी प्रदेशमा भयो । मुस्ताङ जिल्लामा भयो, दामोदरकुण्डमा भयो,’

पोखरा

संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा जगमान गुरुङले गण्डकी प्रदेशबाट जीवको सृष्टि भएको दाबी गरेका छन् ।

राष्ट्र गौरव अभियानले आइतबार पोखरामा गरेको ‘नेपाल राष्ट्र निर्माण, राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक शैक्षिक व्याख्यान कार्यक्रममा उनले त्यस्तो दाबी गरेका हुन् ।

कार्यक्रममा प्रमुख वक्ता रहेका प्राडा गुरुङले नेपालमा हिमालयको स्वरुपमा देवीदेवताको बास भएकोमात्रै दाबी गरेनन्, जीव विकास अफ्रिका नभई नेपालकै गण्डकी प्रदेशबाट भएको समेत जिकिर गरे ।

उनले जाडो ठाउँमा जीव प्रकट हुन सक्दैन भनेर अफ्रिकामा सभ्यता भएको भनेर अंग्रेजहरुले गलत इतिहास सिकाएको आरोप लगाए ।

‘…जीवको सृष्टि भएको छ, नेपालमा । नेपालमा कहाँ भोभन्दा गण्डकी प्रदेशमा भयो । मुस्ताङ जिल्लामा भयो, दामोदरकुण्डमा भयो,’ गुरुङको दाबी थियो, ‘मान्छेले गर्भधारण कहाँ गर्छ ? … पेटमा गर्छ । विश्वको गर्भधारण गर्ने दामोदरकुण्ड हो ।’

गुरुङले संसार जलमा डुबेर मासिए पनि नेपाल नमासिने दाबी गरे ।

‘नेपाल सत्यको देश हो । अघि सृष्टि पनि नेपालको हिमालबाट भएको हो, २८ औं कली नास भए पनि फेरि सृष्टि नेपालकै हिमालबाट हुन्छ,’ उनले भने ।

उनले गाईलाई १६ सय वर्षअगाडि नै राष्ट्रिय जनावर मानिएको तथ्य भेटिएको जिकिर गरेका छन् ।

राष्ट्र गौरव अभियानका संयोजक सिरोजविजय कोइरालाले गौरव गर्नुपर्ने, बुझ्नुपर्नेबेला नेपालको इतिहास पाठ्यपुस्तकबाटै हटाइएको आरोप लगाए ।

नेपाल भन्ने देश पृथ्वीनारायण शाहले दिएको बताए ।

प्रकाशित मिति २०८० भदौ २४ गते आइतबार ०५:५४
हजुरको प्रतिक्रिया