पोखरा
नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाउन सक्ने नेताको छवि बनाएका प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । तत्कालीन संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो । सामान्य रुघाखोकी लागेर काठमाडौंको बालुवाटारस्थ्ति आफ्नै घरमा आराम गरिरहेका उनलाई हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।
अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए । नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेको परिवारका सदस्यले बताएका छन् । त्यसपछि परिवारका सदस्यहरुले त्रिवि शिक्षण अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइएको उल्लेख छ ।
नेम्वाङ गत मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । २०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसद थिए ।
२००९ साल फागुन २८ गते इलाममा जन्मेका नेम्वाङ इलामबाटै २०५६ सालदेखि पाँच पटक सांसदमा विजयी भएका थिए । २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख भएका थिए । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।
नेम्वाङको निधनको खबरपछि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, लगायतका नेताहरु शिक्षण अस्पातलमा पुगेका थिए । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने भएको छ ।
प्रकाशित मिति २०८० भदौ २६ गते मंगलबार ०७:३९




