पोखरा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन प्रणालीलाई बदल्नुपर्ने बताएका छन् । अहिलेकै निर्वाचन प्रणाली रहेको खण्डमा मुलुकमा स्थिरता नदिने उनको भनाइ छ ।
नेपाली कांग्रेसको दोस्रो पोखरा महानगर सम्मलेनमा उनले भने, ‘सिट संख्या बढाउन हामी गठबन्धन गर्छौं । यो गठबन्धन भन्ने राजनीतिले प्रजातन्त्र खान्छ ।’
गठबन्धनको भार निर्वाचनले थिच्ने महामन्त्री थापाले बताए । उनले थपे,‘ थिचिएर निर्वाचनको सुन्दर सरल पक्ष जुन हो त्यो मर्छ । ठीक होइन यो ।’
गठबन्धनको भागबन्डाले प्रदेश सरकारको औचित्यमाथि जनताले प्रश्न उठाइरहेको उनको भनाइ छ । लुम्बिनी प्रदेशमा कांग्रेसको मुख्यमन्त्री टिकाइराख्न नेकपा माओवादी केन्द्रले बार्गेनिङ गर्दा मन्त्रालय र समितिको संख्या थप हुन लागेको जानकारी दिए ।
‘जनतालाई गएर भेट्नु भो भने उनीहरुले भन्छन् जे भनेर प्रदेश बनायौं भनेको जस्तो काम गरेको छैन’, उनले भने, ‘हामीले प्रदेशलाई काम गर्न सक्ने बनाउनुपर्नेछ ।’
प्रदेशले काम गर्न सक्ने बनाउनका लागि पनि निर्वाचन प्रणाली बदल्नुपर्ने उनले दोहो¥याए । निर्वाचन प्रणाली बदल्ने पहल कांग्रेसले सुरु गर्नुपर्ने महामन्त्री थापाको तर्क छ । उनले १६५ निर्वाचन क्षेत्रलाई बढाएर सबै प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्नुपर्नेमा जोड दिए ।
धर्म, पहिचानका नाममा भ्रम छर्ने धेरै आएकाले तिनलाई मलजल नगरीकन निर्वाचन प्रणाली बदल्न कांग्रेसले संवाद थाल्नुपर्ने बताए ।
‘कांग्रेसले अगाडि बढेर संवाद थाल्नुपर्छ । हो, हामीले भनेको जस्तो भएन । यो निर्वाचन प्रणाली समावेशीता दियो स्थिर सरकार दिएन । त्यसैले समावेशी सरकार, समावेशी मन्त्रीमण्डल बनाउँछौं तर निर्वाचन प्रणाली बदल्छौं । अब चुनाव भन्दा अगाडि गठबन्धन गर्ने कुरा कहिल्यै नगरौं । कसैलाई गर्नुपर्ने अवस्था हामी बनाउदैनौं नेपाली कांग्रेसले भन्न सक्नुपर्छ’, महामन्त्री थापाले भने ।
उनले देश सकियो सकियो भनेको बेलामा सकिएको छैन भनेर गाउँ छाड्नेलाई गाउँ फर्काछौं भनेर कांग्रेसले आश्वस्त पार्न सक्नुपर्ने बताए ।
नेपाली कांग्रेसका नेता कार्यकर्ताले २०८४ को चुनाव हारिन्छ भनेर रोइलो गर्न आवश्यक नभएको उनको जिकिर छ । ‘नेपाली कांग्रेस चुनाव लड्ने मेसिन होइन् । एउटा चुनाव हार्दैमा केही सकिदैन’, उनको भनाइ थियो । उनले नयाँ पार्टीलाई पिपलपातेको संज्ञा दिदैं उनीहरुले दोहोरो चरित्र देखाएको आरोपसमेत लगाउन भ्याए ।
जनताको जिविकासँग जोडिएर जनप्रतिनिधिले काम गर्नुपर्ने उनको भनाइ छ । कांग्रेसको टिकट वितरण प्रणालीलाई सुधारेर माथिबाट नभइ तलैबाट टिकट वितरण गर्ने परिपाटीको आवश्यकता औंल्याए ।
प्रकाशित मिति २०८० भदौ २७ गते बुधबार ०५:५४




