म्याग्दी
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाव र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाको पहिचान गर्न लागिएको बताएका छन् ।
नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संघ सरकारमार्फत सञ्चालित योजना र बजेट हस्तान्तरण नहुँदा अस्पताल भवन, सडक पूर्वाधारलगायतका ठूला योजना अलपत्र परेको बताएका हुन् ।
निर्माण व्यवसायीको लापरवाहीले अलपत्र बनेको बेनी अस्पतालको भवनसँगै सडकलगायतका धेरै योजना अलपत्र बनेको उल्लेख गर्दै उनले भने, ‘असफल भएका योजनाको पहिचान गरी पूर्णताः दिन प्रदेश सरकार लागिपरेको छ ।’
बेनी अस्पतालको भवन निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीलाई निरन्तर ताकेता गरेर काममा फर्काउने र कामलाई तीव्रता नदिए ठेक्का तोड्नुपर्ने दुई वटा मात्रै विकल्प रहेको उनको भनाइ थियो । अब ढिलासुस्ती गर्ने ठेकेदारले उन्मुक्ति नपाउने पाण्डेले सुनाए ।
सार्वजनिक खरिद ऐनमा रहेको समस्याले पनि विकास निर्माण योजनामा ढिलासुस्ती भएको समस्या हल हुन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
उनले गण्डकी प्रदेश सरकारले योजना बैँकको अवधारण अनुसार योजना छनोट र कार्यान्वयन सुरु गरेकोसमेत जानकारी दिए ।
यसै वर्षदेखि प्रदेश सरकारले सडक पूर्वाधारमा न्यूनतम ३० लाख र खानेपानी र सिँचाइलगायतका योजनामा न्यूनतम १० लाख बजेट विनियोजन गर्न थालेको जानकारी दिए ।
‘प्रदेशले सुरु गरेका योजनालाई अलपत्र पर्न नदिन प्रदेश सरकार लागिपरेको छ,’ उनले भने ।
म्याग्दीको पश्चिम क्षेत्रको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोले निम्त्याएको सवारी आवागमनको समस्यालाई हल गर्न पहिरोलाई रोकथाम र बेलिब्रिज निर्माण गर्ने विकल्पमा अघि बढ्ने मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।
गण्डकी प्रदेशसभामा पेश भएको सञ्चार विधेयकमा सरोकारवालासँग आवश्यक छलफल गरेर संशोधनसहित विधेयकको मस्यौदा तयार गरिएको उल्लेख गर्दै उनले सञ्चार विधेयकलाई लिएर पत्रकार आन्दोलित बन्नुपर्ने अवस्था नआउने दाबी गरे ।
प्रकाशित मिति २०८० असोज ४ गते बिहीबार ०१:४६




