पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री तथामन्त्रिपरिषदका सदस्यहरुको सम्पतिविवरण सार्वजनिक भएको छ । नेटो काटेर सार्वजनिक गरिएको विवरणमा ढेडलाख भैंसीदेखि एक नाले बन्दुकसम्म सम्पत्ति उल्लेख गरेका छन् । पदधारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि गण्डकीका मुख्यमन्त्रीसहित मन्त्रीले झन्डै ५ महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक सम्पत्ति विवरणअनुसार अधिकांशले आफ्नो सम्पत्ति पैत्रिक भएको देखाएका छन् ।
बिहीबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूसँग ४२ तोला सुन, ५ सय तोला चाँदी र २ सेट हिरा भएको देखाएका छन् । जग्गाबिक्रीवितरण गरेर जोडेको गहनामा उनले तलब सुविधाबाट १ सेट मोति जोडेकोसमेत सम्पत्ति विवरणमा उल्लेख छ ।
मुख्यमन्त्री पाण्डेको सम्पत्ति विवरण
उनले पैत्रिक सम्पत्तिमार्फत गोरखा पालुङटारमा घर र काठमाडौ काठमाडौंमा जग्गा जोडेको उल्लेख गरेका छन् । व्यवसाय तलब र जग्गाबिक्रीबाट एभरेस्ट बैंकमा २४ लाख ९६ हजार मौज्दात रहेको मुख्यमन्त्रीपाण्डेले खुलाएका छन् । पत्नी बिना पाण्डेको नाममा प्रभु बैंकमा ६० लाख रुपैयाँ तलब तथा उपदानमार्फत जम्मा गरेको उल्लेख गरेका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकमा ओभर ड्राफ्ट रहेको ५० लाखमध्ये २३ लाख निकालेको देखाएका छन् भने श्रीमतीको नाममा नगद तथा बैंकबाट ऋणसमेत गरी ६२ लाख रुपैयाँमा मारुती कलेनो कार खरिद गरेको उल्लेख गरेका छन् ।

सामाजिक विकास मन्त्री सुशीला सिंखडासँग भने निकै कम सम्पति रहेको देखिएको छ । माओवादी जनयुद्धहुँदै केन्द्रीय सदस्यसमेत रहेकी सिम्खडाले दाइ विष्णु सिंखडाको नाममा पुख्र्यौलीजग्गा रहेको खुलाएकी छन् । उनले नवलपुरको गैंडाकोट, ललितपुर गोदावरी–३ मा जग्गा किनेको र श्रीमान जनकबहादुर बुढाको नाममा जुम्ला तातोपानी गाउँपालिका २ मा पुख्र्यौली घरसम्पति रहेको बताएकी छन् । उनले २६ हजारको मोबाइल र ७ हजारको घडी आफैंले किनेको उनले खुलाएकीछन् ।
ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले स्याङ्जावालिङ–८ मापुख्र्यौली घरजग्गा देखाएकी छन् । अर्यालसँग २३ लाख नगद, २२ तोला सुन, ४० तोलाचाँदी रहेको बताएकी छन् । अर्यालको नाममा एउटा स्कुटर र श्रीमानको नाममा एउटा मोटरसाइकल छ । अर्यालले ९५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेकीछन् तर प्रयोजन खुलाएकी छैनन् ।
नवलपुर देउचुलीका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले सुस्तापूर्व शिशबार, बर्दघाटमा मा जग्गा र साढे २ तला घर रहेको बताएका छन् । उनीसँग ४० तोला सुन र २० तोला चाँदी छ ।संविधान सभा सदस्यसमेत रहेका जिसीको एउटा सहकारी र ५ वटा बैंकमा नगद मौज्दात रहेको तर बैंक स्टेटमेन्ट प्राप्त भएपछि रकम उल्लेख गरिने बताउँदै खाली सम्पति विवरण बुझाएका छन् ।
अर्थमन्त्री जीतप्रकाश आलेले तनहुँ भीमादमा पुख्र्यौली घरजग्गा रहेको खुलाएका छन् । उनले पैतृक सम्पतिकै रुपमा २१ तोला सुन र २७ तोला चाँदी आफूसँग रहेको बताएका छन् । ३४ लाख रुपैयाँ ऋण भएका उनीसँग ३३ हजार रुपैयाँमा खरिद गरेको लाइसेन्स प्राप्त एक नाले १२ बोर बन्दुक पनि रहेको उल्लेख गरेका छन् ।
उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापाले आफूसँग जिप, ट्याक्टर, फार्मेसीसमेत रहेको खुलाएका छन् । अंशबण्डा नभएको पैतृक सम्पतिका रुपमा बागलुङ जग्गा रहेको बताएका छन् । उनले कास्कीमा ५० लाख र ६० लाख रुपैयाँमा २ वटा कित्ता जग्गा खरिद गरेका छन् । थापासँग १७ तोला सुन, २ किलो चाँदी छ ।
भौतिक तथा पूर्वाधारमन्त्री रेशमबहादुर जुग्जालीको म्याग्दी मालिका गाउँपालिकामा २ वटा घर छ । एउटा आफ्नै नाममाम ११ आनामा बनेको एकतले ५ कोठाको पक्की घर भएको बताएका छन् । ७ तोला सुन रहेको देखाएका उनले आफूसँग ट्याक्टर र स्काभेटर रहेको खुलाएका छन् । उनले ६० लाख ऋण लिएको देखाएका छन् ।
प्रकाशित मिति २०८० असोज ४ गते बिहीबार ०८:००




