तनहुँ
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति नगरी देशको विकासमा जोड दिने बताएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला तनहुँ आएका उनले राजनीति नगरे पनि विकास गर्न भने नछाड्ने बताएका हुन् ।
व्यास नगरपालिका–३ बिपी वनवाटिकामा बनको सभागृहको उद्घाटन गर्न राष्ट्रपति पौडेल गृह जिल्ला आएका हुन् ।
उनले मुलुकको विकास गर्न अझै बाँकी रहेकोसमेत बताएका छन् ।
उनले भने, ‘म दलीय राजनीतिमा हात हाल्दिनँ । तर, विकासबाट हात झिक्दिनँ । मुलुकलाई विकास चाहिएको छ, जो प्रधानमन्त्री आएपनि म विकासका मुद्धाबारे सचेत गराउँछु ।’
उनले जनताका प्रतिनिधिले बनाएको संविधानको रक्षा गर्न आजको आवश्यकता समेत रहेको बताए ।
उनले सबैको भावनालाई समेटर अघि बढे स्थायीत्व हुने समेत बताए ।
कार्यक्रममा राष्ट्रपति पौडेलले जनताको अधिकार रक्षाका लागि राजनीतिक दल अति आवश्यक रहेको तर अतिदलबन्दी भएमा निमुखाको न्याय मर्नेसमेत बताए ।
‘निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नु पर्छ,’ उनले भने, ‘निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ ।’
उक्त सभाहल करिब ७ सय ५० जना क्षमताको छ ।
२३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभाहल श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंले निर्माण गरेको हो ।
करिब ६ हजार ५ सय वर्गफिट क्षेत्रफलमा २ ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ । उक्त भवन चार ढलानको बनाइएको छ ।
भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्षसमेत बनाइएको छ ।
प्रकाशित मिति २०८० असोज ६ गते शनिबार ०५:१६




