पोखरा
पोखरा महानगरपालिकाले भूमि इन्फ्रास्ट्रक्चर प्रालिसँगको ठेक्का रद्दसँगै कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रालिले पोखरा २९, खल्याणमा बनिरहेको गण्डकी बहुप्राविधिक शिक्षालय भवन बनाउन सम्झौता गरेर अलपत्र पारेको छ ।
समयमा काम नसकेको र सम्पर्कमै नआएको भन्दै पोखरा महानरको असार २३ गते बसेको कार्यपालिका बैठकले ठेक्का रद्द गरेर कालोसूचीमा राख्ने निर्णय गरेको हो । महानगरले ठेकेदार कम्पनी पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमै नआएको र काम बीचैमा छोडेर सम्पर्कविहीन भएको जनाएको छ ।

२०७७ सालमा खुलेको गण्डकी बहुप्राविधिक शिक्षालय पोखराको आफ्नै प्राविधिक शिक्षालय हो । शिक्षालयका भवन बनाउन ठेकेदार कम्पनीसँग महानगरले २०७८ पुस ७ गते सम्झौता गरेको थियो ।
११ करोड ४२ लाख रुपैयाँमा भएको उक्त सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७९ फागुन २९ गतेभित्र भवन बनाइसक्नुपर्ने थियो । शिलान्यास भएर पनि काम अगाडि नबढ्दा भवन अपलत्र अवस्थामा छ । तोकिएको समयमा काम नसकेको र सम्पर्कमै नआएपछि ठेकेदार कम्पनीसँग ठेक्का रद्द गरेर कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णयमा पुगेको हो ।

आफ्नै भवन नहुँदा शिक्षालय अहिले पोखरा २७ भण्डारढिकमा रहेको जनप्रकाश माविको भवनमा आश्रित छ । जनप्रकाश माविले उपलब्ध गराएको २९ वटा कोठामा प्राविधिक शिक्षा पढाइ भइरहेको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

शिक्षालयको आफ्नै भवन नहुँदा दीर्घकालीन योजनाहरु बढाउन नपाइएको तिमिल्सिनाले बताए । भवन नहुँदा विद्यार्थीको संख्या बढाउनेदेखि अन्य प्राविधिक कार्यक्रम चलाउन कठिनाइ भइरहेको उनको भनाइ छ । हाल शिक्षालयमा २ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

शिक्षालयमा डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन फरेस्ट्रीलगायत विषय पढाइ भइरहेको छ ।
प्रकाशित मिति २०८० असोज ७ गते आइतबार ०२:४०



