पोखरा
पोखरा महानगरपालिकाले शुक्रबारदेखि पोखरा बसपार्क क्षेत्रमा बनेका एक दर्जनभन्दा बढी मोटरपार्टस् तथा ग्यारेज हटाउन सुरु गरेको छ । एक महिना लामो म्याद दिएर स्थानान्तरणका लागि समय दिँदासमेत अटेरी गरेको भन्दै महानगरले बसपार्क क्षेत्रका ग्यारेज र मोटर पार्टस् हटाउन सुरु गरेको हो ।
‘पटकपटक आग्रह गर्दा पनि उहाँहरु हट्न मान्नुभएन । नहटेपछि शुक्रबारबाट महानगर आफैंले बसपार्कमा बनेका ग्यारेजहरु हटाउन सुरु गरेको हो’, महानगर नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भने, ‘त्यहाँ कुनै पनि ग्यारेज र कवाडी पसल खोल्न पाइँदैन ।’
महानगरले भदौ तेस्रो साता पनि बसपार्क क्षेत्र आगेटेर बनेका १ दर्जन ग्यारेज हटाएको थियो । नगर प्रहरी प्रमुख थापाले हालसम्म बसपार्क क्षेत्रका १४ ग्यारेज र एउटा कवाडी पसल हटाइसकिएको जानकारी दिए । अतिक्रमणको चपेटामा परेको बसपार्क संरक्षण गर्न अभियान थालिएको महानगरले जनाएको छ । ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै मुख्य सडकमा लामो दूरीका बस पार्क गर्न नपाउने महानगरले नियम बनाएको छ ।
बसपार्क बनाउन २०३२ सालमै पोखरा नगर उपत्यका विकास समितिले अधिग्रहण गरेको २०५ रोपनी जग्गा अहिले मस्किलले ३० रोपनीमात्रै बाँकी रहेको महानगरले गरेको अध्ययन प्रतिवेदनमै उल्लेख छ । बसपार्क बनाउन बर्सेनि महानगरपालिकाले बजेट विनियोजन गर्दै आएको छ । तर, दर्जनौं पटक डीपीआर भएर पनि योजना लागू हुन सकेको छैन ।
प्रकाशित मिति २०८० असोज ८ गते सोमबार ०४:४२




