पोखरा
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पोखरा उपत्यकामा लागू गरेको ट्याक्सीमा मिटर प्रणालीलाई प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने भएको छ ।
मन्त्रालयले मिटर प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमनलाई तिब्रता दिने र जरिवानाको दर बढाउने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता तथा यातायात व्यवस्था महाशाखा प्रमुख टिकाराम पौडेलले हालसम्म मिटरमा चल्न नमान्ने ट्याक्सीलाई २ हजार १ सय रुपैयाँका दरले जरिवाना लिएकोमा अबदेखि न्युनतम् ५ हजार रुपैयाँ पु¥याएको बताए ।
भदौ १ गतेदखि पोखरा उपत्यकामा चल्ने ट्याक्सीमा अनिवार्य मिटर प्रणाली कार्यन्वयन गरिएको छ ।
मिटरमा चल्न नमाल्ने ११७ वटा ट्याक्सीलाई कारबाही गरिएको पौडेलले जानकारी दिए । ‘केही ट्याक्सीहरु कारवाहीको प्रक्रीयामा छन् । मिटरमा नगुड्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने रणनीति बनाएका छौं’, उनले भने ।
ट्याक्सीमा मिटरको भाडा लागु भए नभएको मन्त्रालयबाट नियमित अनुगमन भइरहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए । कुनै ट्याक्सीले मिटरमा चल्न नमानेमा तुरुन्तै ट्राफिक प्रहरी, यातायात कार्यालय र मन्त्रालयमा उजुरी गर्न उनका अनुरोध छ ।
‘यात्रुको गुनासो तत्कालै सम्बोधन र मिटरमा नचल्ने ट्याक्सीलाई सवारी ऐन अन्तरगत कारबाही हुन्छ’, मन्त्री जुग्जालीले भने ।
२ वर्षअघि समायोजन गरिएको भाडादर अनुसार १५ किलोमिटरको यात्रामा चढ्नासाथ ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँ तोकिएको छ । १५ किलोमिटर भन्दा बढीको दूरीमा प्रति किलोमिटरको ३७.५० कायम गरिएको छ ।
प्रकाशित मिति २०८० असोज १० गते बुधबार १२:३७




