पोखरा
पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टर कुटिएको घटना अझै सेलाएको छैन । पोखराका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गराएका स्वास्थ्यकर्मीले बुधबार विरोध प्रदर्शनसमेत गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पोखराका स्वास्थ्यकर्मीले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
मणिपाल शिक्षण अस्पताल फुलबारी, गण्डकी मेडिकल कलेज पृथ्वीचोक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लगायत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि विरोध प्रदर्शन गरे ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यन्वयनको माग स्वास्थ्यकर्मी राखेका छन् ।
विरोधमा सहभागी स्वास्थ्यकर्मीले ‘डाक्टर कुट्ने प्रहरीमाथि कारबाही गर’, ‘अत्याचार र दमन कहिलेसम्म ?’, ‘दोषिलाई छुटैछुट डाक्टरमाथि कुटाकुट’ लगायतका प्लेटकार्ड बोकेर प्रदर्शन गरे ।
सोमबार दिउँसो लमजुङको सुन्दरबजार नगरपालिका–७ की ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि पोखरा अशान्त छ ।
आइतबार अस्पताल भर्ना भएकी दुरालाई सोमबार दिउँसो १ बजेर १५ मिनेटको समयमा अस्पतालले मृत घोषणा गरेको थियो । मृतकका आफन्त अस्पतालका चिकित्सकको लापरवाहीको कारण बिरामीको ज्यान गएको भन्दै तोडफोडमा उत्रिएका थिए ।
आक्रोशित मृतकका आफन्तले अस्पतालमा कार्यरत आवासीय चिकित्सक अनिल शाहमाथि हातपातसमेत गरे । त्यसैको विरोधमा डाक्टर विरोधमा उत्रिएका हुन् ।
मृतकका आफन्तले पनि बुधबार विरोध प्रदर्शन गरिरहेका छन् । अहिले प्रदर्शनसहित चक्काजाम गराइरहेका छन् । महेन्द्रपुलबाट प्रदर्शनसहित मृतक पक्षधरको भीड चक्काजाम गराउँदै पृथ्वीचोकतर्फ लागेको छ ।
चिकित्सकको कुटपिटमा संग्लन कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने विनय गुरुङलाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको थियो ।
उनलाई जिल्ला अदालत कास्कीबाट मंगलबार ७ दिनको म्याद थप गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।
बिरामीको मृत्यु भएपछि नाराबाजीमा संग्लन फिस्टेल हस्पिटलमा कार्यरत डा. दिनेशकुमार विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मिनबहादुर गुरुङको रोहबरमा डा. गिरधारी शर्मालाई जिम्मा लगाएर मंगलबार छाडिएको छ ।
मणिपालको तनावग्रस्त स्थिती नियन्त्रण लिन पुगेका ४ जना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले दाबी गरेको छ ।
तस्बिर सौजन्यः धनबहादुर गुरुङ सुमन’
प्रकाशित मिति २०८० असोज १० गते बुधबार ०३:४७



