पोखरा
पर्वतको कुस्मा नगरपालिका–७ मा तमादी खोलाले टाटा सुमो बगाउँदा ३ जना वेपत्ता भएका छन् । बाग्लुङबाट पोखरा आउदै गरेको ग १ ज ६२१३ नम्बरको टाटासुमो खोलाले बगाएको हो ।
तमादी खोला बाग्लुङ पोखरा राजमार्ग हुँदै बग्छ । मोटरेवल पुल बन्दै गरेकाले सिधैं खोला वारपार गर्नुपर्छ ।
चालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी खुमलाल भुषालले जानकारी दिए । ‘खोलामा माथिबाट ठुलठुला ढुंगा खसेर बाटो छेकेको रहेछ । चालकले झरेर ढुंगा पन्छाउँदै गर्दा एक्कासी खोला बढेर टाटासुमो बगाएछ । चालकको भने ज्यान जोगिएको छ’, डिएसपी भुषालले भने ।
एक घण्टादेखि वेपत्ता सवारीको खोजी भइरहेपनि फेला पार्न नसकेको उनले जानकारी दिए । नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी मिलेर खोजी जारी रहेको छ । अहिले खोलाको सतह घटेको छ । अवरुद्ध बाग्लुङ पोखरा राजमार्ग एकतर्फी खुलेको छ ।
प्रकाशित मिति २०८० असोज १३ गते शनिबार ०८:०७