महेन्द्र भोटेबाट पनि झण्डै ९ करोड अपचलन
पोखरा
पोखराको सूर्यदर्शन सहकारीबाट सञ्चालक समितिका पदाधिकारी तथा सदस्यले सहायक कम्पनी र विभिन्न व्यक्ति खडा गरेर कागजातै बिनै डेढ अर्ब रुपैयाँ हिनामिना गरेको पाइएको छ ।
गितेन्द्रबाबु (जीबी) राईको समूहबाट पोखरामा २०६५ सालमा खालेको सूर्यदर्शनबाट गुण्डागर्दी, व्यवसाय हुँदै राजनीतिकमा लागेका महेन्द्र भोटेसहित रकम अपचलन गरेको पाइएको हो ।
पोखरा महानगरपालिकाले सहकारीको आर्थिक हिनामिनासम्बन्धी विश्लेषणात्मक अध्ययन गर्न गत भदौ १० गते विशेषज्ञ समिति गठन भएको थियो ।
सो विश्लेषणात्मक अध्ययन प्रतिवेदनअनुसार सुरुदेखि नै सहकारीको रकम अन्य क्षेत्रमा लगाउँदै आएको यो समूहका जीबी दाजुभाइकै कार्यकालमा ठूलो रकम अपचलन भएको देखिएको छ ।
प्रतिवेदन महानगर हुँदै जिल्ला प्रहरी कार्यालय पुगेको छ र यो १/२ दिनभित्रै सरकारी कार्यालयबाट अदालतमा मुद्धा अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख मोहनबहादुर थापाले जानकारी दिए ।
स्थापना कालदेखि नै अहिलेसम्म सहकारीको रकम अपचलन गर्न नेतृत्व गर्ने १९ जनालाई विपक्षी बनाइएको छ ।
जसमध्ये कोषाध्यक्ष २२ दिनअघि नै पक्राउ परिसकेका छन् भने १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
रकम अपचलन गर्नेमा जीबी राई, उनका दाइ भूपेन्द्र, रम्तेल, थानबहादुरसहित कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वेर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ पदाधिकारी तथा सञ्चालक थिए ।
लेखा अधिकृत सृष्टि मानन्धर, लोकन अधिकृत बुद्धि गुरुङ पनि सहकारीको रकम अपचलनमा गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ ।
यीमध्ये महेन्द्र भोटे र आइस्मा तामाङ कास्की मादी–६ भाचोकका हुन् भने ललिता तामाङ र सुरज श्रेष्ठ लेखनाथ, बुद्धि गुरूङ मादी–९ मिजुरेडाँडाका हुन् ।
गत साउन ३२ गते प्रहरी कार्यालयले सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो ।
पोखरा–४, नालाकोमुखमा रहेको सूर्य दर्शन सहकारीका १ हजार ३६ जना बचतले रकम दाबी गर्दै प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
त्यही उजुरीको आधारमा प्रहरीले गत भदौ २४ गते जीबीसहित ७ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा अहिलेसम्म १९ जना पुगेका छन् ।
जीबी अध्यक्ष हुँदा २१ करोड ४२ लाख र जीबीलगत्तै उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाखको हिसाब नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख हिनामिना भएको पाइएको छ ।
थानबहादुर बुढाको पालामा २७ करोड ४८ लाख रुपैयाँ अपचलन भएको विश्लेषण विशेषज्ञले गरेका छन् ।
सहकारीको १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको देखिएको र कतिपय रकमको अभिलेख नै नभेटिएको प्रतिवेदनमा छ ।
प्रकाशित मिति २०८० असोज १४ गते आइतबार ०७:०३




