पोखरा
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताएका छन् ।
नेकपा एमाले प्रथम गण्डकी अधिवेशनमा उनले लोकप्रियतावामा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवाहरुलाई भ्रम छरिरहेको आरोप लगाए ।
‘अहिले धेरै राजनीतिमा भ्रम सिर्जना भइराखेका छन् । हाम्रा बाबुनानीहरु फेसबुक हेर्छन्, टिकटक हेर्छन् र भ्रममा पर्छन्,’ गुरुङले भने, ‘राजनीतिमा एउटा कुन्चैं चटकेवालहरु चलिराखेका छन्, जसको मुलुकप्रति कुनै दर्शन छैन, कुनै योजना छैन, कुनै भिजन छैन, कुनै नीति छैन ।’
नीतिबिनाको पार्टीले देशको विकास गर्न नसक्ने त्यो केवल चटमात्रै हुने गुरुङको भनाइ छ ।
‘दुनियाँमा यस्ता रमिते र चटकेहरु धेरै देखेका छौं । त्यस्ता चटकेहरु हामीले भारतमै देखेका छौं, अमेरिकामा देखेका छौं, रुसमा देखेका छौं, अस्ट्रेलियामा देखेका छौं,’ उनले भने, ‘तर, लोकप्रियतावादले भिजनबिनाको, नीति बिनाको, योजना बिनाको पार्टीले मुलुकलाई अगाडि हाँक्न सक्दैन ।’
गुरुङले अगाडि भने, ‘त्यस्तै यो मुलुकमा राष्ट्रिय स्वतन्त्रता पार्टी नामको पार्टी छ, जसको कुनै कुनै भिजन छैन, कुनै योजना छैन, कुनै नीति छैन त्यसले युवाहरुलाई दिग्भ्रमित भइराखेका छन् । यो दिग्भ्रमबाट मुक्त हुनुहोस् ।’
उपमहासचिव गुरुङले गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै होलान् । तर, यसलाई मन परेन भनेर राजतन्त्रको विकल्प हुन सक्दैन,’ उनले भने ।
प्रकाशित मिति २०८० असोज १५ गते सोमबार ०२:५०




