२०८३ साउन २१ गते बिहीबार

नेकपा एमाले अधिवेशनः मतदान बिहीबार हुने

नेकपा एमाले अधिवेशनः मतदान बिहीबार हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १७ गते बुधबार ०५:५१

‘आज उम्मेदवारी दिन र नाम फिर्ता लिने काम भइरहेको छ । अब आज मतदान नहुने नै भयो,’ प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले भने, ‘भोलि हुने भए पनि कतिबेला सुरु हुन्छ अहिलेसम्म टुंगो लागेकोे छैन ।’

पोखरा

नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका बिहीबार बिहान मतदान हुने भएको छ ।

बुधबार दिनभरि पानी परेको र उम्मेदवारी दर्ता गर्न ढिलाइ भएकाले आज मतदान नहुने भएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।

‘आज उम्मेदवारी दिन र नाम फिर्ता लिने काम भइरहेको छ । अब आज मतदान नहुने नै भयो,’ प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले भने, ‘भोलि हुने भए पनि कतिबेला सुरु हुन्छ अहिलेसम्म टुंगो लागेकोे छैन ।’

प्रदेश नेतृत्व चयनका लागि मेसिनबाट भोटिङ हुनेछ । स्रोतका अनुसार बुधबार भोटिङ मेसिन ‘सेटअप’ गर्नै समय लागेकोले मतदान सरेको हो ।

‘मेसिनबाट भोटिङ गर्ने भनिएको छ । तर, खासमा त्यो मेसिन सेटअप गर्न नै समय लागेको हो,’ स्रोतले भन्यो ।

यसअघि नेकपा एमाले प्रदेश अध्यक्ष नवराज शर्माले १७ गते साँझसम्म नतिजा आइसक्ने बताएका थिए ।

अधिवेशनका लागि गण्डकीका विभिन्न जिल्लाबाट ९ सय ८ प्रतिनिधि पोखरा आएका छन् ।

उनीहरुका लागि २१ वटा होटल बुक गरिएका छन् ।

नयाँ नेतृत्व चयनका लागि एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधरबीच प्यानलै बनाएर निर्वाचनमा होमिइँदैछन् ।

पृथ्वीसुब्बा प्यानलबाट प्रदेश अध्यक्षका लागि नवराज शर्मा, उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, पोखरेल प्यानलबाट अध्यक्षमा मायानाथ अधिकारी, उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित मिति २०८० असोज १७ गते बुधबार ०५:५१
हजुरको प्रतिक्रिया