पोखरा
एमाले गण्डकी प्रदेश कमिटीको नेतृत्व चयनका लागि पोखरा सभागृहमा मतदान जारी छ । एमाले गण्डकी अधिवेशनमा नवराज शर्मा र मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार छन् ।
हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।
मीनप्रसाद गुरुङ र बाबुराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गर्नेछन् ।
म्याग्दीका नवराज शर्मा प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा हालका सचिव लमजुङका धनञ्जय दवाडी र उपसचिवमा कास्कीका दामबहादुर विक र महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारी मैदानमा उत्रिएका छन् ।
मायानाथ पक्षधरबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र महिला उपसचिवमा कास्किकी मीना गुरुङ प्रतिस्पर्धामा छन् ।
यसअघि बुधबार एमाले गण्डकी प्रदेश कमिटीमा २७ जना सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । तोकिएको संख्या भन्दा बढी उम्मेदवारी नपरेपछि सर्वसम्मत भएका हुन् ।
१ सय ६५ पदमा ३ सय ८२ जनाको उम्मेदवारी परेको थियो । जसमा २७ सदस्य निर्वाचित भएपछि अहिले १३८ प्रतिनिधि छान्न मतदान भइरहेको हो ।
प्रकाशित मिति २०८० असोज १८ गते बिहीबार ०२:१७




