२०८३ असोज २४ गते शनिबार

भीम रावल समूह समेट्दै एमाले सुदूरपश्चिम अध्यक्षमा जैसी सर्वसम्मत

भीम रावल समूह समेट्दै एमाले सुदूरपश्चिम अध्यक्षमा जैसी सर्वसम्मत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २५ गते बिहीबार ०२:५६

रावल समूह उपसचिव पाएपछि अध्यक्षबाट ब्याक भएको हो। रावलको समूहबाट अध्यक्षको उम्मेदवार बनेका भरत साउदले अध्यक्षमा जैसीलाई समर्थन गरेका हुन्।

नेकपा एमालले सुदूरपश्चिमको सर्वसम्मत रूपमा पदाधिकारी चयन गरेको छ। प्रथम प्रदेश अधिवेशनमार्फत कृष्णप्रसाद जैसीको नेतृत्वमा सर्वसम्मत पदाधिकारी चयन भएका हुन्।

नेतृत्व छान्न धनगढीमा ५ दिनसम्म चलेको अधिवेशनले पदाधिकारी अन्ततः सर्वसम्मत चयन गरेको हो। उपाध्यक्षमा कालीबहादुर शाही बुधबारै निर्विरोध निर्वाचित भएका थिए। सचिवमा रणबहादुर चन्द निर्वाचित भएका छन्। उपसचिवमा नरबहादुर विक र भागरथी विष्ट चयन भएका छन्। भीम रावल समूहको अडानले सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयन हुन सकेको थिएन।

सुदूरपश्चिम रावल समूहविरुद्ध दामोदर भण्डारी, कर्णबहादुर थापा र लेखराज भट्ट समूह मिलेका थिए। रावल समूह उपसचिव पाएपछि अध्यक्षबाट ब्याक भएको हो। रावलको समूहबाट अध्यक्षको उम्मेदवार बनेका भरत साउदले अध्यक्षमा जैसीलाई समर्थन गरेका हुन्।

सचिव चयन भएका चन्द दामोदर भण्डारी समूहका हुन्। उपसचिव बनेका विक भीम रावल समूहका हुन्। अध्यक्ष बनेका जैसी एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा समूहले अघि सारेका उम्मेदवार हुन्। अध्यक्षमा उम्मेदवारी दिएका अछामका कमल तिमिल्सिना र कञ्चनपुरका वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका थिए। तिमिल्सिनालाई भण्डारी समूहले अध्यक्षको उम्मेदवार खडा गरेको थियो भने लेखराज समूहले सिंहलाई अघि सारेको थियो।

कूल १५९ सदस्यीय प्रदेश कमिटीमा सर्वसम्मत भएका सदस्यको विवरण तयारीको क्रममा रहेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति २०८० असोज २५ गते बिहीबार ०२:५६
हजुरको प्रतिक्रिया