२०८३ साउन २१ गते बिहीबार

कोशीमा काे बन्ला मुख्यमन्त्री ?

कोशीमा काे बन्ला मुख्यमन्त्री ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २६ गते शुक्रबार १०:५५

कोशी प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा प्रदेश प्रमुख पर्शुराम खापुङ अन्योलमा छन् । प्रदेश प्रमुखकाे आह्वानअनुसार संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीमा दुई जनाले समान सांसदकाे हस्ताक्षरसहित दाबी पेस गरेपछि...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कोशी प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा प्रदेश प्रमुख पर्शुराम खापुङ अन्योलमा छन् । प्रदेश प्रमुखकाे आह्वानअनुसार संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीमा दुई जनाले समान सांसदकाे हस्ताक्षरसहित दाबी पेस गरेपछि काेशीमा मुख्यमन्त्री नियुक्तीकाे विषय पेचिलाे बनेकाे हाे ।

प्रदेशसभा सदस्यद्वय इन्द्र आङ्बो (माओवादी केन्द्र) र केदार कार्की (नेपाली कांग्रेस) ले मुख्यमन्त्री पदका लागि बिहीबारै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्। मुख्यमन्त्रीमा दाबी पेसका लागि दिइएको समय सीमा शुक्रबार साँझ ५ बजे सकिँदै छ। आङ्बो र कार्की दुवैले ४७/४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउँदै आफूलाई मुख्यमन्त्री बनाउनुपर्ने माग गरेका छन्।

संविधानको धारा १६८ (५) अन्तर्गत पहिला सत्तारुढ दलकाे तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बोको दाबी पेस भएको हाे भने पछि एमालेकाे समर्थनमा कांग्रेस शेखर समूहका केदार कार्कीले ८ जना सांसद सशरीर उपस्थितसहित ४७ जनाकाे नै हस्ताक्षर बुझाएका थिए । कांग्रेसको शेखर कोइराला पक्षलाई समर्थन गरेको एमाले कोशी प्रदेशसभामा उपसभामुखसहित ४० सांसद छन्। संविधानको उपधारा ५ मा जोसुकै सांसदले पनि बहुमत सांसद पुर्‍याउन सके आफ्नो नेतृत्वमा सरकार गठन गर्नसक्ने व्यवस्था छ। तर, आङ्बो र कार्की दुवैले बराबर सांसदको हस्ताक्षर पेस गरेपछि प्रदेश प्रमुख अन्योलमा परेका हुन्।

केही सांसदको भने दुवैतर्फ हस्ताक्षर भएको छ।

अब प्रदेश प्रमुखले निर्णय लिनुअघि पुन : एकपटक राजनीतिक तहकाे छलफल कुर्न सक्नेछन् । बिहीबार मात्र सत्तारुढ दलका शीर्ष नेताको बैठकले कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो। सांसद कार्कीले पार्टीभित्र विद्रोह गरेकाले पार्टी केन्द्रको निर्णय कुर्नुपर्ने कांग्रेसका प्रवक्ता मीनबहादुर विश्वकर्माले बताए।

यसअघि दुईपटक मुख्यमन्त्री बने पनि एमालेका हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो।

कोशी प्रदेशमा कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

यसैविच, नेपाली कांग्रेसले कोशी प्रदेशको कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यमन्त्रीको दाबी गर्दा डा. शेखर कोइराला पक्षले एमालेसँग मिलेर विद्रोह गरेपछि निर्णय गर्न प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

बैठकमा पार्टी र गठबन्धनको निर्णयविपरीत कोइराला पक्षले गरेको विद्रोह बारेमा छलफल र निर्णय हुने नेपाली कांग्रेस नेता भूपेन्द्र राईले बताए ।

नेकपा एमालेसँग मिलेर कांग्रेसका २९ सांसद मध्ये ८ जनाले विद्रोह गरेका छन् ।

प्रकाशित मिति २०८० असोज २६ गते शुक्रबार १०:५५
हजुरको प्रतिक्रिया