पोखरा
नेपालीहरुको महान पर्व विजयादशमी आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन बडादशैं मनाउने गरिन्छ ।
दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोपिन्छ ।
यव अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।
विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ् । घटस्थापनाको साइत आज बिहान ११ः२९ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
शुक्ल पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
यस अवसरमा पोखराको विन्ध्यवासिनी, भद्रकाली मन्दिर लगायत देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्दछ । आजैदेखि पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु हुँदैछ । महोत्सवको पहिलो दिन आज नवदुर्गाको शोभा यात्रा गरिंदै छ । विन्ध्यवासिनी मन्दिर परिसरबाट शोभायात्रा सुरु भएर, भैरवटोल, नालामुख, तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोकहुँदै मन्दिरमै पुगेर समापन हुनेछ ।
प्रकाशित मिति २०८० असोज २८ गते आइतबार ०७:३७




