पोखरा
स्थानीय मल व्यवस्थापन समितिले निर्धारण गरेको मुल्य अनुसार पोखरा महानगरपालिका–५ मा अनुदानको मल किसानलाई बढीमा २२ रुपैयाँ लिएर बिक्री गर्न पाइन्छ । अनुदानको मलमा झेल गर्दै झन्डै दोब्बर मुल्यमा बिक्री गरेको फेला परेको छ ।
पोखरा मालेपाटनमा सञ्चालित कोइराला कृषि सामाग्री भण्डारले प्रतिकिलो ४० रुपैयाँमा बिक्री गरेको फेला परेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार कोइराला कृषि सामाग्री भण्डारले महानगरपालिकाबाट अनुदानको मल बिक्री गर्न अनुमतिसमेत लिएको छैन ।
‘मल बिक्रीको अनुमति लिएको छैन । महानगरमा दर्ता पनि छैन । बिक्रेताले बिक्री र स्टकको प्रत्येक लट अनुसारको लगत नराखेको भेटियो’, कडरियाले भने ।
कोइराला कृषि सामाग्रीमा पोटास १ बोरा, डिएपी ९ बोरा र युरीया साँढे ६ बोरा फेला परेको छ ।
यस्तै, पोखरा– ५ कै आर्दश कृषि सामाग्रीले पनि बिना अनुमति अनुदानको मल बिक्री गरेको फेला परेको छ । अनुगमन टोलीले खरिद र बिक्री बिल नभएको र बढि मुल्यमा बिक्री गरेको फेला परेको जनाएको छ ।
आदर्शमा युरिया ३५ रुपैयाँ, डिएपी ५५ रुपैयाँ र पोटास ४५ रुपैयाँमा बिक्री गरेको फेला परेको महानगरले जनाएको छ ।
मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा पोखरामा युरिया प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म मुल्य निर्धारण गरेको छ ।
डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा तोकिएको छ । पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ ।
मल बिक्रेताले प्लाष्टिक झोलाको २ रुपैयाँसम्म बढी लिन पाउनेछन् ।
पोखराका २६ वटा वडाका ६७ केन्द्रलाई अनुदानको मल बिक्री वितरणको अनुमति दिएको महानगरले जनाएको छ ।
प्रकाशित मिति २०८० कात्तिक २ गते बिहीबार ०६:१७




