पोखरा
‘चञ्चले कान्छीको जोवन
हावासँगै उडिसकेछ
रहरलाग्दो कान्छीको योवन
ठट्टा गर्दै बैंस ढल्केछ…’
एल्बम ‘चञ्चले कान्छी’ बजारमा ल्याएसँगै पोखराबाट कन्दरा ब्याण्डको उदय भयो । ब्याण्ड स्थापित भएको तेस्रो वर्षमा सन् १९९५ मा कन्दराले ल्याएको पहिलो एल्मबको गीत धेरै स्रोताको जिब्रोमै झुन्डियो । लोकपप शैलीको यो गीतसँगै उदाएको कन्दराले बर्षौसम्म पनि सांगीतिक यात्रामा पछाडी फर्कनै परेन । जतिबेला नेपाली सांगीतिक क्षेत्रमा लोकपप फ्लेबरमा पोखरेली ब्याण्डहरुले अधिपत्य जमाएका थिए ।
‘चञ्चले कान्छी’ मार्फत सफलताको स्वाद चाखेको कन्दराले वर्ष दिन नपुग्दै अर्को एल्बम बजारमा ल्यायो । ‘डाँडापारि’ एल्बममा समावेश ‘लेककी हे माया’, ‘तिमीपारी’, ‘विदेशिएर गइन उनी’ स्रोताले खुब रुचाए । माया, प्रेम र वियोग समेटिएका गीतबाट सफलताको अर्को खुटकिलो चढ्दै कन्दरा थप दरिलो बन्यो ।
‘हिउँ त होइन पाफ्रेको डंगुर
माया भयो अमिलो अंगुर
हङकङ पोखरा
निरमोही आफ्नो को छ र…?
पोखरेली साहित्यकार सरुभक्त श्रेष्ठले लेखेका यी हरफमा सुनिल थापाले संगीत भरेर ाएपछि कन्दराले नयाँ गीत सार्वजनिक गरेपछि नेपाली सांगीतिक क्षेत्रको शिखर चढ्यो । यो गीत यतिसम्म हिट भयो कन्दरालाई मात्रै नभएर पोखरालाई चिनायो । कन्दरा र हङकङ पोखरा एक अर्काका पर्यायवाची शब्द बने । अझैपनि कन्दरा उच्चारण हुन साथ हङकङ पोखरा सम्झने स्रोताको कमी छैन ।
यो गीत अझैपनि उस्तै सर्वप्रिय छ, कन्दरा ब्याण्डले ५ वर्षअगाडि आफ्नै युट्युब च्यानलमा हालेको भिडियोको भ्युजले पनि प्रमाणित गर्छ । हालसम्म यो गीतले झन्डै ८० लाख भ्युज पाएको छ । सन् १९९८ मा एल्बम ‘हङकङ पोखरा’ को शीर्ष गीतले लाहुरे संस्कृतिले विदेशिएको प्रेमीको कथा बोलेको थियो । त्यतिबेला गण्डकीका गाउँ गाउँमा लाहुरे संस्कृति मौलाएका थियो । गीतमा भनिएको छ :
‘विदेशिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
जिउ त हैन ढुंगाको छपनी
आउँला माया नमरे म पनि
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र…’
गीतको शब्द कन्दराका गायक विवेकसँग संयोगले होला मेल खायो । सन् २००१ मा गायक श्रेष्ठ पैसा कमाउन यूके हानिए । ‘यो गीत मेरो जीवनमा पनि कता कता टाँस्सिरहे जस्तै भयो’, शुक्रबार उनले भने । विवेक युके हानिएपछि विस्तारै कन्दरा ब्याण्ड विभाजनको संघारमा पुग्यो । हुन त उनी ४ वर्षपछि युकेबाट फर्किएर कन्दराको चौथो एल्बम ‘वर्षौँपछि’ सार्वजनिक भयो । कन्दराले ल्याएको यो एल्बमको ‘तगारोमा रुमाल राखी’ गीतले पहिलाको जस्तै चर्चाको शिखरमा पुर्यायाे पनि । तर, पनि विवेकलाई जहाड चढेर युके पुग्नबाट रोकेन । स्रोताको मनमनमा बसेको कन्दरा त्यसपछि विस्तारै सुस्तााइरह्यो ।
कन्दरा पोखराबाट उदाएर भारतको नागाल्याण्ड र सिलोङमा एक कन्सर्ट गरेर सिमापारी पनि वर्चस्व कायम गर्न सफल ब्याण्ड थियो । जापन, हङकङ, सिंगापूर, अष्ट्रेलिया, लण्डन, यूरोप, दक्षिण कोरियाका शहर पनि कन्दराको अर्गानिक स्वादका झुमेको इतिहास छ ।
एक दशकपछि २०१६ मा कन्दराले अर्को गीत ‘भेडी गोठैमा’ ल्यायो । पहिला जस्तो दर्शक स्रोताले रुचाएनन् । उसो त गायक श्रेष्ठसँग पहिलाका ब्यान्ड मेम्बर पनि सँगै थिएन । कतिले विवेकले रोजेको बाटो जहाज चढेर परदेशिए त कति व्यापार व्यवसाय थालेर सांगीतिक जीवनबाट निष्क्रिय भए । कन्दरा जस्तै पोखराबाट उदाएका सबैजसो ब्याण्ड पनि अहिले निष्क्रिय नै छन् ।
कन्दराले फेरि पुनरागमनको प्रयास गर्दैछ । एकसाथ उभिएका छन् कन्दराका गायक विवेक श्रेष्ठ र संगीत संयोजक सुनिल थापा । जो कक्षा ८ मा बेञ्च बजाएर गीत गाउने साथी हुन् । कन्दरामा जोडिएका छन् गिटारिस्ट हरि महर्जनसँगै गिटारिस्ट देव लामा, वेस गिटारिस्ट पकंज झा, ड्रमसेट र मादलमा विज्ञसुन्दर महर्जन ।
पुर्नसंरचना गरेको कन्दराले पुनरागमनको प्रयास गृह सहर पोखराबाट गर्दैछ । उसले भनेको छ, ‘घरबाट कन्दरा ।’
‘हामी पहिला घरदेश अनि परदेश । पहिला हामी आफ्नै गाउँघरबाट आफ्नै गाउँघर घुमौं भन्ने एउटा नारा लिएर कन्दरा ब्यान्ड नेपालका विभिन्न सहरमा यात्रा गर्ने जमर्को गर्दैछौं’, गायक श्रेष्ठले सुनाए । केही वर्षदेखि सांगीतिक यात्रामा फर्कने तयारीमा रहेको उनले बताए । ‘नयाँ संगीत सिर्जनाको काम गरेर अब हामी रेड्डि छौं । अब घर जानुपर्छ भनेर घर आउँदै कन्दरा परिकल्पना लिएर आउँदैछौं’, गायक श्रेष्ठले भने, ‘नेपालका अरु सहरबाट पनि हामीलाई नबोलाइएको होइन । जस्तो कि अहिलेसम्म काठामाडौंमै कार्यक्रम गरेका छैनौं । नेपालका अन्य ठाउँमा विदेशमा पनि कन्दराको कार्यक्रम गरौं भन्दै हुनुहन्थ्यो । होइन हामीले श्रीगणेश पोखराबाटै गरेको हो । पुनरागमन पनि पोखराबाटै गर्दा सार्थकता हुन्छ भनेर हो ।’
अघोषित रुपमा ब्याण्डहरुको राजधानी पोखरालाई पुनरावृत्ति गराउने योजनामा रहेको श्रेष्ठको भनाइ छ । ‘नेतृत्वदायी भूमिका खेल्दैछौं । साथ र सहयोग सबैको चाहिन्छ’, आशावादी बने ।
‘घरदेश घुमौं पर्यटन प्रबद्र्धन’ उद्घोषका साथ पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा मंसिर १६ गते कन्दरा पोखरा गुञ्दिैछ । जसको व्यवस्थापन आदि ग्रुप प्रालिले गर्नेछ । पोखराबाट गुञ्जिने कन्दरा परदेशसम्म पुगेर काठमाडौंमा मैजरो गर्ने योजनामा छ ।
संगीतको माध्यमबाट पर्यटन प्रबद्र्धन हुने अपेक्षा पोखरा पर्यटन परिषद्को छ । ‘पोखराबाट सुरु भएर कन्दरा सातै प्रदेश पुग्नुपर्छ । सबै प्रदेशको पर्यटन चलायमान बनाउनुपर्छ’, परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘कन्दराको सांगीतिक कार्यक्रमले पोखरामा लाखौं पर्यटक भित्रनेमा ढुक्क छौं ।’
प्रकाशित मिति २०८० कात्तिक ३ गते शुक्रबार ०१:१९




