६ सय वर्षअघि फूलपातीका दिन आएको भूकम्पमा परी राजा अरि मल्लले गुमाएका थिए ज्यान
काठमाडौं
आइतबार बिहान धादिङको खरी केन्द्रविन्दु भई आएको भूकम्पले दसैं मनाइरहेका मानिसहरुबीच हल्लीखल्ली मच्चिएको छ ।
आज बिहानको ६.१ म्याग्निच्युडको भूकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकोे छ।
बिहान ७ः३९ बजेको भूकम्पको कम्पन धाडिङसहित देशका विभिन्न भागमा महसुस गरिएको थियो ।
२०७२ वैशाख १२ गते शनिबार उत्तरी गोरखाको बाकपाक केन्द्रविन्दु भई भूकम्प भएको थियो । त्यस्तै त्यही महिनाको २९ गते दोलखा र सिन्धुपाल्चोकको सिमाना केन्द्र गरी भूकम्प हुँदा ठूलो जनधनको क्षति भएको थियो ।
यो वर्ष बझाङबाट भूकम्प हुन सुरु भएको थियो । बझाङ केन्द्रविन्दु भई पटकपटक भूकम्प गइरहेको छ ।
भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार धाडिङमा गएको भूकम्प नयाँ नभई गोरखा भूकम्पकै पराकम्प हो ।
‘धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ,’ आज बिहानको भूकम्पबारे भने, ‘यो नयाँ भूकम्प होइन गोरखा भूकम्पको पराकम्प हो ।’
भूकम्प सम्बन्धी विभिन्न स्रोतहरुका अनुसार भूकम्पहरूलाई ‘मोमेन्ट म्याग्निट्यूड स्केल’ मा मापन गरिन्छ । यसअघि सुनिँदै आएको ‘रेक्टर स्केल’ लाई यो मापनले प्रतिस्थापित गरेको छ ।
पुरानो मापन प्रणालीभन्दा नयाँ थप तथ्यपरक रहेको विज्ञहरुको दाबी छ ।
भूकम्पको धक्का ‘फल्ट लाइन’को दूरी र त्यसलाई हलचल गराउने शक्तिका आधारमा मापन गरिन्छ ।
विज्ञहरुले बताए अनुसार कम्तीमा २.५ वा त्यसभन्दा तलका भूकम्पहरू मानिसलाई थाहा पनि हुँदैन र सरल उपकरणहरूले पनि पहिचान गर्न सक्दैनन् ।
म्याग्निट्युड ५ सम्मका भूकम्पहरू मानिसलाई राम्ररी थाहा हुन्छ र यसले सामान्य भौतिक क्षति पनि पु¥याउन सक्छ ।
हालै मोरक्कोमा गएको ६.८ म्याग्निट्युडको भूकम्पलाई मध्यमदेखि ठूलो धक्काको रूपमा वर्गीकरण गरिएको छ ।
गत फेब्रुअरीमा टर्कीमा गएको ७.८ म्याग्निट्युडको भूकम्प भने ठूला भूकम्पहरूमध्येमा पर्छ ।
८ भन्दा ठूलो भूकम्पलाई विनाशकारी भनिन्छ र यसले आफ्नो केन्द्रमा रहेका बस्तीहरू पूरै ध्वस्त बनाउन सक्छ ।
केही समयअघि नेपालको डोटी जिल्ला केन्द्रविन्दु भएको भूकम्प त्यस क्षेत्रमा शताब्दियौंदेखि सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ ।
केन्द्रका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि भएको छैन ।
सन् १५०५ मा त्यस भेगमा ठूलो भूकम्प गएपछिको ५ शताब्दीभन्दा लामो समय अर्को मुख्य भूकम्प नभएको बताइएको छ ।
यस्ता थिए महाभूकम्प
५ सय वर्षअघिको महाभूकम्प ८.१, ८.४ र ७.८ म्याग्निट्युडका रहेको र त्यसको असर भारत र तिब्बतसम्म परेका विवरणहरू भूकम्प सम्बन्धी स्रोतहरुमा उल्लेख छन् ।
वि.सं. १४०१ मा गएको भूकम्पलाई चाहिँ ठूलो भूकम्प भनेर गोपालराज वंशावलीमा लेखिएको छ ।
त्यो भूकम्प दसैंको फूलपातीका दिन भएको रहेछ ।
त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरणमा उल्लेख छ ।
वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भूकम्प भएको विवरणहरू तथ्यसहित भेटिएका छन् ।
त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भूकम्प भएका थिए ।
झन्डै ८ सय वर्ष (७९५ वर्ष)को नेपालको इतिहासमा २०४५ सालको भूकम्पलाई पनि गणना गर्दा गर्दा कुल ५० वटा ठूला भूकम्प भएको देखिन्छ ।
प्रकाशित मिति २०८० कात्तिक ५ गते आइतबार १२:०२




