बेनी
दसैंमा टीका लगाउने क्रममा नयाँ नोट दिने प्रचलन पुरानै हो ।
नोट मैलो र फोहोर हुने नै मूख्य सिजन नै दशैं हो । दसैंमा दक्षिणा स्वरुप पाएको नयाँ नोट कसरी बचाउने भन्नेबारे केही मन्थन गरौं ।
दसैंको मुखमा म्याग्दीका बैंक तथा वित्तीय संस्थामा नयाँ नोट लिनेको भिड नै लागेको थियो ।
हरेक वर्ष म्याग्दीमा करिव ५ करोडको हाराहारीमा नयाँ नोट भित्रिने गरेपनि यस वर्ष वित्तीय संस्थालेसमेत पर्याप्त नयाँ नोट वितरण गर्न सकेनन् ।
नयाँ नोट चाडपर्वपछि वित्तीय संस्थामा जम्मा हुदाँ रातो टीकाले रंगिएको हुन्छ । जनचेतनाको अभावका कारण पनि धेरै नोटहरू चाडपर्वमै काम नलाग्ने गरी बिग्रिने गरेको छ ।
नेपाल सरकारले अरबौंको लगानी गरी छापिएका नोट जारी हुनासाथै काम नलाग्ने बन्न बाट जोगाउन म्याग्दीका वित्तीय संस्थाले नयाँ नोटसँगै सचेतनामूलक जानकारीसहितको पर्चासमेत वितरण गर्दै आएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाका प्रबन्धक नवराज ढुंगानाले दसैंमा टीका लगाउँदा र पूजाआजा गर्दा नोटमा अबीर, केसरीसहित रङहरु लागेको नोटको आयु लामो नहुने भएकाले सर्वसाधारणलाई नयाँ नोटसँगै जोगाउनुपर्ने सन्देश प्रवाह गरिँदै आइएको बताए ।
राष्ट्रिय वाणिज्य बैंकले सेवाग्राहीलाई चाडपर्वमा बिग्रिएको नोट राष्ट्र बैंक पुगेपछि पुनः त्यसलाई बजारमा लैजान नमिल्ने बताएको छ ।
पुरानो नोेटको सट्टामा नयाँ नोट छापिने भएकाले बैंकले सन्देशमूलक जानकारी पढेरै सुनाउने गरेको छ ।
नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई अतिरिक्त ब्ययभार थपिनुका साथै नेपाली अर्थतन्त्रमा नै असर गर्छ ।
दक्षिणाका रुपमा दिने पैसालाई टिका लगाएकै हातले समातेर दिँदा त्यसमा रङ लाग्ने भएकाले सकेसम्म मोबाइल बैंकिङको प्रयोग गर्नसमेत अनुरोध गरिएको गरिमा विकास बैंक बेनी शाखाकी अप्रेसन इन्चार्ज कविता सुवेदीले बताइन् ।
टीका लगाउने क्रममा नोटलाई खाममा राखेर दिँदा नोट सुरक्षित हुने भएपनि पैसा देखाएर हातबाट हातमै दिने चलन छ ।
नेपाल बैंक म्याग्दी शाखामा नेपाल राष्ट्र बैंकको नोट कोष रहेकाले त्यहाँबाट अन्य वित्रीय संस्थाभन्दा धेरै वितरण हुने गरेकाले हरेक वर्ष नोटलाई सुरक्षित गर्न अनुरोध गर्ने गरिएपनि प्रयोगकर्ताले चासो नदेखाएको कर्मचारीको भनाइ छ ।
दसैंका समयमा नयाँ नोट वितरण गर्नुभन्दा सुकिला नोटहरु नै प्रचलनमा राखेर त्यसको सुरक्षा र संरक्षणमा नागरिकलाई सचेत बनाउन आवश्यक देखिन्छ ।
दसैंमा नेपाल बैकमार्फत प्रति सर्वसाधारण नयाँ नोट ५, १०, २०, ५०, ५ सय र १ हजार दरका नयाँ सटही सुविधा दिँदै आएको छ ।
नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएकाले नोट सुरक्षामा जनताले ध्यान दिए राज्यको करोडौं रकम बच्ने देखिन्छ ।
प्रकाशित मिति २०८० कात्तिक ६ गते सोमबार ०९:०१




