२०८३ असोज २४ गते शनिबार

फिर्केखाेला मिचेर बनेका संरचना हटाउन महानगरको ३५ दिने सूचना

फिर्केखाेला मिचेर बनेका संरचना हटाउन महानगरको ३५ दिने सूचना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक ११ गते शनिबार ०८:५२

तोकिएको मितिभित्र संरचनाहरु नहटाए महानगरपालिका आफैंले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थावाट असुलउपर गरिने चेतावनी महानगरले दिएको छ ।

पोखरा

पोखरा महानगरपालिकाले फिर्के खोलाको क्षेत्रभित्र बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । फिर्के खोला सिमांकन गरेको प्राविधिक टोलीले प्रतिवेदन बुझाएको करिब एक महिनापछि महानगरले हिजो सूचना जारी गर्दै खोला  क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरेकाे हाे ।

तोकिएको मितिभित्र संरचनाहरु नहटाए महानगरपालिका आफैंले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थावाट असुलउपर गरिने चेतावनी महानगरले दिएको छ । फिर्के खोला सिमांकन टोलीले गत असोज ६ गते प्रतिवेदन बुझाएको थियो । टोलीले फिर्के खोला मिचेर १६० वटा अस्थायी र स्थायी संरचना बनाएको प्रतिवेदन पेश गरेको छ । सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले पेस गरेकोसो प्रतिवेदनमा खोला मिचेर ९७ वटा अस्थायी, ३५ वटा स्थायी, १० वटा संघसस्थाका अस्थायी र १८ वटा संघसस्थाका स्थायी संरचना बनेका छन् । टोलीले बुझाएको प्रतिवेदनमा बेलैमा फर्केको संरक्षणमा थाल्न पनि महानगरलाई सुझाइएको छ ।

सर्भे टोलीले खोलाघरको पश्चिमतर्फ ३ सय ३ र पूर्वतर्फ २ सय ८५ वटा सीमा स्तम्भहरु गाडिएको छ । टोलीले साउन ३ देखि भदौ २ गतेसम्म फर्केको सिंमाकन गरेको थियो । प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलामै बनेको खुलेको छ । त्यसमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । खोलानै मिचेर ९७ अस्थायी बनेका संरचनामध्ये दायाँतर्फ ५० र बायाँतर्फ ४७ संरचना बनको पाइएको प्रतिवेदनले देखाएको छ । फिर्केखोला मिचेर ३५ वटा व्यत्तिगत स्थायी संरचना बनेका छन् । जसमध्ये दायाँतर्फ १८ वटा र बायाँतर्फ १७ वटा रहेको प्रतिवेदनमा उल्लेख छ ।

फिर्केलाई व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा उल्लेख छ । संस्थागत रुपमा अस्थायी संरचना खडा गरी फिर्के मिच्नेमा सशस्त्र प्रहरी बल, बराल समाज, पुन समाज, सोंपाल तमू समाज, व्यर्थन महिला समूह, राधाकृष्ण मन्दिर, सामुदायिक भवन छन् । स्थायी संरचना नै बनाएर फिर्के मिच्नेमा स्कुल, मन्दिरदेखि, समाजघरदेखि लायन्स क्लबसम्म छन् । प्रतिवेदनअनुसार फिर्केमा स्थायी संरचना बनाएकाहरु लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, बराल समाज मन्दिर, सोंपाल समाज घर, किरियापुत्री भवन बगालेटोल, फोटोग्राफर संघ, अर्चलबोट किरियापुत्री भवन, पुनमगर समाज घर, बराल कल्याण मन्दिर, लायन्स क्लब, इलेक्ट्रिक एसोसियसन, फिर्के तमु समाज छन् ।

प्रतिवेदनले करिब २ दशकअघिसम्म फिर्केखोला सफा कञ्चन र पिउनयोग्य पानी बग्ने गरेको पाइएको समेत उल्लेख गरेको छ । तर, फिर्केखोला तीव्र सहरीकरणसँगै अतिक्रमणको चपेटामा परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘मानवीय अतिक्रमण र प्रदुषणले फिर्केखोलाको अवस्था पछिल्लो समय अस्तितव रक्षाको संकटपूर्ण घडीमा पुगेको छ ।’

नापजाँचका क्रममा फिर्केखोला कम्तिमा ३.३० मिटरदेखि ४० मिटरसम्म फराकिलो रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । तर, फिर्केखोलाको पुछार फेवाताल गाईघाटमा माटोले पुरिएर ११ रोपनी ४ आना क्षेत्रफल माटो र फोहोरले पुरिएर चौर बनिसकेको अध्ययनले देखाएको छ । पोखराको मध्यभाग भएर बग्ने फिर्केखोला ८ किलोमिटर लामो छ । अँधेरी कुनादेखि पोखराको मध्यभाग भएर बग्ने फिर्के फेवातालमा गएर मिसिन्छ । खोलाको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानेर  सिमांकन गरिएकाे हाे ।

 

प्रकाशित मिति २०८० कात्तिक ११ गते शनिबार ०८:५२
हजुरको प्रतिक्रिया