२०८३ असोज २४ गते शनिबार

जाजरकोट भूकम्पमा ८० को मृत्यु, प्रधानमन्त्री प्रचण्ड प्रभावित क्षेत्र प्रस्थान

जाजरकोट भूकम्पमा ८० को मृत्यु, प्रधानमन्त्री प्रचण्ड प्रभावित क्षेत्र प्रस्थान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १८ गते शनिबार ०७:५२

प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि भूकम्पमा परी मृत्यु भएको छ ।

पोखरा

शत्तिशाली भूकम्पको धक्काले जाजरकोट र रुकुम पश्चिमा ठूलो मानवीय क्षति भएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म ८० जनाको मृत्यु भएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।सुरक्षा अधिकारीका अनुसार अहिलेसम्म जाजरकोटमा ४४ जना र रुकुमपश्चिममा ३६ जनाको मृत्यु भएको हो । भूकम्पमा परेकाको खोजी जारी रहेको र मृतकको संख्या बढ्नसक्ने उद्धारमा खटिएका सुरक्षा अधिकारीले बताएका छन् । घटनामा अहिलेसम्म १ सय ४० बढी घाइते भएका छन् ।

जाजरकोटमा ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको प्रहरीले बताएको छ । साथै भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको छन् । घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।

छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । रातिको समयमा भूकम्प गएकाले मानवीय क्षति बढ्ने सक्ने उद्धारमा खटिएका सुरक्षा अधिकारीहरुले अनुमान गरेका छन् । प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि भूकम्पमा परी मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा भूकम्पमा परी उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

उद्धार र राहतका लागि कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी भइरहेको सुर्खेत जिल्ला प्रशासन कार्यालले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमलम दाहाल प्रचण्डले उद्धार र राहतमा जुट्न तीन वटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा गएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । भूकम्पको धक्का पोखरासहित देशभर र भारतको दिल्लीसम्म महसुस गरिएको छ । पोखरामा पनि भूकम्पको धक्कापछि मानिसहरु सडकमा निस्किएका थिए ।

भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी नै रहेको छ । राति ११ः४७ बजे गएको भूकम्पपछि ३ वटा ४ रेक्टर भन्दा माथिका भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० कात्तिक १८ गते शनिबार ०७:५२
हजुरको प्रतिक्रिया