२०८३ साउन २१ गते बिहीबार

पश्चिम नेपाल भूकम्पको जोखिममा, १ सय ५७ को मृत्यु

पश्चिम नेपाल भूकम्पको जोखिममा, १ सय ५७ को मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १९ गते आइतबार ०७:४६

जाजरकोटमा गएको मझौला खालको भूकम्पबाट अनुमानविपरीत जनधनको क्षति भएको छ । मझौला भूकम्पबाट ठूलो क्षति पुग्नुले नेपालको पश्चिम नेपाल भूकम्पीय जोखिममा रहेको देखिएको छ ।

पोखरा

जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण अहिलेसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट दुबै जिल्लामा गरी १ सय ९७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार भूकम्पका कारण जाजरकोटमा १ सय ५ जना तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुबै जिल्लामा गरी ९९ महिला र ५८ पुरुषको ज्यान गएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा १ सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन–तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौं तथा अन्य ठाउँमा लगिएको छ भने केहीलाई लैजाने क्रम पनि जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा १ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पविद्हरूका अनुसार ६.४ रेक्टर स्केललाई मझौला खालको भूकम्प मानिन्छ । भूकम्पविद्रले ४ रेक्टर स्केलभन्दा कमलाई सानो, ४ देखि ६.९ रेक्टर स्केलसम्मलाई मझौला र ७ रेक्टर स्केलभन्दा माथिलाई विनासकारी भूकम्प भनेर पहिचान गरेका छन् ।

जाजरकोटमा गएको मझौला खालको भूकम्पबाट अनुमानविपरीत जनधनको क्षति भएको छ । मझौला भूकम्पबाट ठूलो क्षति पुग्नुले नेपालको पश्चिम नेपाल भूकम्पीय जोखिममा रहेको देखिएको छ । यसले पश्चिम क्षेत्रमा भूकम्पीय जोखिमको ऐना देखाएको टिप्पणी भूकम्पविद्ले गरेका छन् ।

प्रकाशित मिति २०८० कात्तिक १९ गते आइतबार ०७:४६
हजुरको प्रतिक्रिया