सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, टिकटक, युट्यूब, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो । निर्देशिकाले नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । निर्देशिकाअनुसार सामाजिक सञ्जाल प्लेटफर्म दर्ताका लागि सूचना प्रकाशित हुनेछ । सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्मले मन्त्रालयमा सूचीकरण गर्नुपर्नेछ । सूचीकृत नभए कुनै पनि बखत बन्द गर्न सक्ने प्रावधान निर्देशिकामा छ । निर्देशिकामा सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्न नहुने भन्नेबारे १९ बुँदामा समेटिएको छ ।
निर्देशिकामा बेनामे अर्थात फेक आइडी बनाउन नहुने र यस्ता आइडीबाट कुनै पनि प्रतिक्रिया जनाउन नहुने उल्लेख छ ।
कुनै समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ण, पेशा, सम्प्रदाय, शारीरिक तथा मानसिक अवस्था, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी होच्याउने, गाली बेइज्जती गर्ने, घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दिन नपाइने उल्लेख गरिएको छ ।
प्रकाशित मिति २०८० कात्तिक २४ गते शुक्रबार ०९:३८




