पोखरा
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । विभिन्न परिकार खान दिई शनिबार कागको पूजा गरिँदैछ ।
यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए । सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ । कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मान्ने गरिएको छ । कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ । कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार साँझ यमदीप दान गर्नुपर्ने समितिले जनाएको छ । समितिका अनुसार साँझ त्रयोदशी तिथि परेका दिन यमदीपदान गर्नुपर्ने हुन्छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । कार्तिक कृष्ण चतुर्दशी पारेर आइतबार बिहान कुकुरको पूजा गरिनेछ भने आइतबार नै साँझ लक्ष्मीपूजा गरिँदैछ ।
प्रकाशित मिति २०८० कात्तिक २५ गते शनिबार ०७:०८




