पोखरा
पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुरमा साढे ४ महिना कैद फैसला भएको छ ।
जिल्ला अदालत कास्कीले बिहिबार साढे ४ महिना कैदसहित ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको सूचना अधिकारी सुरज अधिकारीले बताए ।
जिल्ला न्यायधिश अवनी मैनाली भट्टराईको एकल इजालसले उक्त फैसला गरेको उनले जानकारी दिए ।
‘जाहेरवालालाई १० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला भएको छ’, उनले भने ।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ (क) बमोजिम फैसला भएको उनको भनाइ छ ।
उक्त दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । सोही ऐनको दफा ७ (२) अनुसार सार्वजनिक पद धाराण गरेका व्यत्तिले उफदफा १ बमोजिमको कसुर गरेमा सो उफदफामा उल्लेखित भए अनुसार थप ५० प्रतिशत सजाय थपिने उल्लेख छ ।

पोखरा– २४ की वडा सदस्य मैया नेपालीले २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुर मुद्वा दर्ता गराएकी थिइन् । त्यो भन्दा पहिले नै वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गर्दै गत २०७९ पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् । त्यसलगत्तै प्रहरीले अभियुक्त वडाध्यक्ष अधिकारीलाई पुस २६ गते पक्राउ गरेको थियो ।
जिल्ला न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासमा भएको थुनछेक बहसपछि वडाध्यक्ष अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । गत वर्षको माघ ६ गते धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि उनले सोही दिन रकम बुझाएर रिहा भएका हुन् ।
कसुर ठहरिएका वडाध्यक्ष अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । वडामा दलित महिला सदस्य मैयाँ नेपालीसहित ४ जना सदस्य एमालेबाट निर्वाचित भएका हुन् ।
प्रकाशित मिति २०८० मंसिर ७ गते बिहीबार ०६:२०




