तनहुँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टचारका फाइल खुलेको सरकारले आफ्नै छोराछोरीको नाम आएपछि बन्द गरेको टिप्पणी गरेका छन् । उनले फाइल खुलेपछि खुलेपछि अन्तिम पन्नामा पुगेर मात्रै बन्द गर्न चुनौति दिए ।
विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन भित्रिदा सरकारले आफुले राम्रो काम गरेको हिसाब मिलाउन तल्लिन रहेको लामिछानेको आरोप छ ।
‘अब एक वर्ष पुग्न लाग्यो अहिले प्रधानमन्त्री सरकार हामीले यो यो राम्रो काम ग¥यौं भनेर भाषणको खाका तयार पारेर बसेका छन् । सुनाउँछन् एक दुई दिनपछि यसो ग¥यौं उसो ग¥यौं । हामीले फाइल खोल्यौं’, उनले भने, ‘फाइल त खुल्यो, खुल्नेवित्तिकै बन्द पनि भयो । यसो हेरेको आफ्नो छोराछोरीको नाम आयो बन्द । त्यही भयो फाइल । फाइल खुलेपछि बन्द गर्न सक्ने आँट राख्नुपर्छ एक पन्नामा होइन अन्तिम पन्नामा पुगेर ।’
उनले रास्वपाको हरेक नेतासँग आँट भएको दाबीसमेत गरे । बिहिबार तनहुँको भिमादमा भएको खुलासभालाई सम्बोधन गर्दै लामिछानेले अबको ४ वर्ष पूराना दलले देश बनाउने काम गर्न चेतावनि दिए । तर, जेल गएकालाई कसरी निकाल्ने र जान सक्ने सम्भवना भएकालाई कसरी जोगाउने पुराना दलको ४ वर्ष सेटिङ मिलाउनमै केन्द्रित हुने उनको भनाइ छ ।
‘यत्रो वर्ष देशलाई भ्रष्टचारको चंगुलमा हाले । अब बाँकी रहेका केही मान्छे जो जेल जान पाएका छैनन् तिनलाई कसरी बचाउने ? जेल गएकालाई कसरी छुटाउने बाहेक यो ४ वर्ष उनीहरुको अर्को ध्यान हुने छैन लेखेर राख्नुहोला’, लामिछानेको दाबी छ । आफूलाई गलत प्रमाणित गरे घरकै घण्टी भएर बस्न तयार रहेको उल्लेख गरे ।
देशको गहेगुज्रिएको हालत दिनानुदिनको भ्रष्टाचार र लाजै नपचाइ माला खादाले पुरिएर हिँडेका नेताका अनुहार हेर्न नसकेर आफूहरु राजनीतिमा होमिएको उनले सुनाए ।
‘यो खेल बदलिन्छ । यो देशमा परिवर्तन सम्भव छ’, ठोकुवा गर्दै उनले भने, ‘तर आँट गर्नुपर्छ । डराउनु हुन्न, पुच्छर लुकाउनुल हुन्न । छाती चौडा पारेर शिर ठाडो पार्नपर्छ, आँखामा आँखा जुधाउनुपर्छ । नबिराउनु, नडराउनु…।’
उनले पहिलो पटक नै अत्याधिक विश्वास गरेका जनताले बीच बाटोमा छाड्ने अधिकार नभएको भन्दै इमोसनल ब्ल्याकमेल गर्न भ्याए ।
प्रकाशित मिति २०८० पुस ५ गते बिहीबार ०७:४०




