पोखरा
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । गत वर्ष आजकै दिन पुस १० गते तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । सरकारको एक वर्ष पुगेको अवसरमा आज प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दिउँसो ३ बजेलाई तय गरिएको सम्बोधन प्रधानमन्त्रीको व्यस्तताले साँझ ५ बजे सारिएको हो ।
प्रधानमन्त्री प्रचण्ड आफैंले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै अब नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्दै आएका छन् ।प्रतिनिधिसभामा जम्मा ३२ सिटसहित तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गत वर्ष पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका थिए । तर, पछि गठबन्धन फेरेर कांग्रेससहितका दलको समर्थनमा निरन्तर एक वर्ष सरकारको नेतृत्व प्रचण्डले गरेका हुन् ।
दश वर्षे हिंसात्मक संघर्षबाट आएका दाहालले यो एक वर्षमा उनले १२ पटक मन्त्रिपरिषद् हेरफेर र विस्तार गरे यसले दाहालको यो एक वर्ष पनि सरकार टिकाउनमै बितेको जस्तो देखिएको छ । द्वन्दकालिन मुद्दाहरुको टुंगो लगाउने, देशमा सुशासन कायम गर्ने, विकास निर्माणका कामलाई गति दिनेलगायत बाचा गर्दै सरकारको नेतृत्व गरेका दाहालले जनताले महशुस गर्नेगरी काम गर्न नसकेको आफैले स्वीकार गरेका छन् । देशको बिग्रँदो अर्थतन्त्र लयमा फर्कन नसकेको मात्र होइन आर्थिक मन्दीले व्यापार–व्यवसाय तहसनहस भएको छ । जनतामा आशा जगाउने काम सरकारले गर्न नसकेको भनी आलोचना भइरहेको छ । यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए ।
प्रकाशित मिति २०८० पुस १० गते मंगलबार ०८:१३




