२०८३ साउन २१ गते बिहीबार

सातै प्रदेशका मुख्यमन्त्री हेटौंडा भेला हुँदै, अधिकार प्रत्यायोजन गर्न संघलाई दबाब दिइने

सातै प्रदेशका मुख्यमन्त्री हेटौंडा भेला हुँदै, अधिकार प्रत्यायोजन गर्न संघलाई दबाब दिइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १२ गते बिहीबार ०९:०६

गत असारको पोखरा बैठकको समीक्षा गर्दै अधिकार प्रत्यायोजन गर्न संघलाई दबाब दिइने ।

पोखरा

संविधान बमोजिम संघले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले संघीय सरकारलाई दबाब दिने भएका छन् । सातै प्रदेशका मुख्यमन्त्रीहरू आज बागमती प्रदेशको राजधानी हेटौंडामा भेला हुँदैछन् भने भेलाले संघीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि माग गर्ने जनाइएको छ ।

यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए । तर, त्यतिका समय बितिसक्दा पनि संघीय सरकारले आपूहरूका माग पूरा नगरेको भन्दै मुख्यमन्त्रीहरूले फेरि मोर्चाबन्दी कस्न लागेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारसँग अधिकार माग्न अझै थप दबाब दिनुपर्ने अवस्था देखिएपछि बैठक बस्न लागेको बताए । हेटौंडा बैठकले यसअघिका निर्णय कार्यान्वयनका लागि अहिलेसम्म भएका कामको समीक्षा गर्दै थप तदारुकताका लागि दबाब दिने उनले बताए ।

यसअघि पोखरामा बसेको मुख्यमन्त्रीहरूको बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष्ट्रिय तथ्यांकको एकीकृत अभिलेख प्रणाली विकास गर्ने, साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्ने, प्रदेशले पाउने अधिकारलाई प्रत्यायोजन गर्ने लगाएतका निर्णय गरेको थियो । तर संघ सरकारले ६ महिनाको अवधिमा ती निर्णय कार्यान्वयनको विषयमा कुनै कदम नचालेपछि मुख्यमन्त्रीहरु फेरि दबाब दिनुपर्ने अवस्थामा पुगेका हुन् ।

यसअघि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री दाहाललाई भेटेर अलग्गै रुपमा ज्ञापनपत्र बुझाएका थिए । उनले एक महिनाको समय दिएर अल्टिमेटम समेत घोषणा गरेका थिए । तर त्यसले समेत संघीय सरकारलाई दबाबमा राखेको छैन । केही दिनअघि सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेशस्तरमा सम्मेलनहरू गरेकोमा त्यहाँ पनि प्रदेशको अधिकारका विषयमा छलफल भएको थियो । त्यसक्रममा कांग्रेस नेताहरूले संघले प्रदेशलाई अधिकार नदिए आन्दोलनमा उत्रिन समेत पछि नहट्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति २०८० पुस १२ गते बिहीबार ०९:०६
हजुरको प्रतिक्रिया