२०८३ कात्तिक १० गते सोमबार

धूमधामले अंग्रेजी नयाँ वर्षको स्वागत (तस्बिरहरु)

धूमधामले अंग्रेजी नयाँ वर्षको स्वागत (तस्बिरहरु)

विनोद ढुंगाना

@Public 4K Tv

२०८० पुस १६ गते सोमबार ०१:४४

‘४ देखि ५ लाख पर्यटक आउने पूर्वअनुमान गरेका थियौं । त्यो पूरा भएको छ’,उनको दाबी छ ।

पोखरा

पोखरामा अंग्रेजी नयाँ वर्ष २०२४ धूमधामले स्वागत गरिएको छ । लेकसाइडमा नयाँ उत्साहका साथ अंग्रेजी नयाँ वर्ष मनाइएको हो ।

सोमबार राती १२ बजे आतिसबाजीसहित नयाँ वर्षको स्वागत गरियो । नयाँ वर्षको उत्साह साटासाट गर्न लेकसाइडमा ठेलमठेल भीड लाग्यो ।

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा हरेक वर्ष सडम महोत्सव हुने गर्दछ । रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले ‘सडकमै खाऔं, सडकमै रमाऔं’ नाराका साथ यसपालि २५ औं संस्करणको सडक महोत्सव गरेको हो ।

सडक महोत्सवमा यसपालि अहिलेसम्मकै धेरै पर्यटक आएको महोत्सव संयोजक विश्वराज पौडेलले बताए । ‘४ देखि ५ लाख पर्यटक आउने पूर्वअनुमान गरेका थियौं । त्यो पूरा भएको छ’,उनको दाबी छ, ‘हिजोको क्राउड अहिलेसम्मकै सर्वाधिक हो । सडकमा धेरै पर्यटक आए ।’

पौडेलका अनुसार पोखराका सबैजसो होटल भरिभराउ भए । लेकसाइडको प्रवेशद्वार शहीदचोकदेखि खहरेसम्म भीडभाड रहेको उनले बताए । कोमागाने पार्कमा सांगीतिक उत्सव थियो ।

विहिबार सुरु भएको महोत्सवले झन्डै ३ किलोमिटर सडक क्षेत्र सिंगारिएको थियो । महोत्सवमा चितवनको थारु नाँचदेखि रुकुमको मयूर नाँचसम्म देखाइयो ।

एक दिनबाट सुरु भएको महोत्सव सन् १९९९ मा एकहप्तासम्म चलेको थियो । ‘मिलेनियम वर्ष’ का रुपमा पहिलो पटक सात दिनसम्म मनाइएको र त्यसयता ५ दिन महोत्सव मनाइँदै आइएको छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिएको छ । आज साँझ महोत्सव सकिदैछ ।

प्रकाशित मिति २०८० पुस १६ गते सोमबार ०१:४४
हजुरको प्रतिक्रिया