२०८३ असोज २४ गते शनिबार

यस्तै छ जिन्दगी, बाँचे भेट मरे त यत्तिकै…

यस्तै छ जिन्दगी, बाँचे भेट मरे त यत्तिकै…

विनोद ढुंगाना

@Public 4K Tv

२०८० पुस १९ गते बिहीबार ०८:४५

रुसी सेनाको गाडीमा सहकर्मीसँग भिडियो बनाउँदै लेखेका थिए, ‘यस्तै छ जिन्दगी, बाँचे भेट मरे त यत्तिकै ।’ त्यसै दिनदेखि उनी परिवार र आफन्तको सम्पर्कमा आएनन् ।

पोखरा

सानु तिमीले नमान टेन्सन
बाँचे तलब मरे त पेन्सन
लाहुरे सिपाही दाइ…

अक्टोबर २८ तारिखका दिन रुसी सेनाको पोशाकमा सजिएर आफैंले गीत गाउँदै हरि अर्यालले फेसबुकको रिल्समा भिडियो पोस्ट गरेका थिए ।

भिडियो पोस्ट गरेको २ महिनामै रुस र युक्रेनबीचको युद्धमा परेर उनै हरि अर्याल सदाका लागि अस्ताएका छन् ।

उनले भिडियोमा भनेको जस्तो न उनले तलब घर पठाउन पाए न त परिवारले पेन्सन नै पाउनेछन् । बरु नमान्नु भनेको चिन्ताले परिवार र आफन्तलाई गिजोलिरहेको छ ।

तलब पेन्सनको कुनै आश छैन, मृतक हरिको शव नेपाल ल्याएर शतगत् गर्न पाइयोस् परिवारको अन्तिम इच्छा छ ।

लडाईमा परेर मृत्यु भएको खबर आएपछि बुधबार नै कुशको प्रतिमा बनाएर दाहसंस्कारको तयारी गरेका आफन्तले अझ केही दिन पर्खने निधो गरेका छन् ।

‘परराष्ट्र मन्त्रालयबाट शव या आधिकारीक केही आउँछ कि । फोनमा मात्रै कुरा भएको भनेर २ दिन कुर्ने निधो गरेका छौं’, आफन्त बद्री अर्यालले सुनाए ।

सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय हरिले डिसेम्बर ४ मा हतियारसहित गुडिरहेको रुसी सेनाको गाडीमा सहकर्मीसँग भिडियो बनाउँदै लेखेका थिए, ‘यस्तै छ जिन्दगी, बाँचे भेट मरे त यत्तिकै ।’ त्यसै दिनदेखि उनी परिवार र आफन्तको सम्पर्कमा आएनन् ।

रुसी सेनामा भर्ती भएका अन्य नेपालीको मृत्युको खबरले उनको परिवारलाई खुब सताउथ्यो । परिवारले पुकार गर्थे, ‘हे, भगवान् हाम्रो हरिलाई केही नहोस् !’ तर, हुने हार दैव नटार भने जस्तै भइदियो ।

परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट सोमबार रुस–युक्रेनको युद्धमा स्याङ्जाका हरि अर्याल मारिएको आधिकारिक जानकारी आएपछि परिवारजन र आफन्त अहिले विक्षिप्त छन् ।

२३ वर्षीय अर्याल गएको कात्तिक ३ गते भिजिट भिसामा यूएइ हुँदै रुस पुगेका आफन्त बद्री अर्यालले जानकारी दिए ।

नेपाली सेनामा भर्ती भएका हरिले ३ वर्षमै राजीनामा दिएका थिए । ‘ठूलो देशमा धेरै पैसा कमाउने आशमा त्यातिर गा हो’, अर्यालले सुनाए ।

सुरुमा हरिले बहराइन पुलिसमा जानलाई सेनाको जागिर छाडेको थिए । त्यहाँ भिसा नलागेपछि साउथ अफ्रिकामा पनि जाने प्रयास गरे । नभएपछि कम्बोमा सुरक्षागार्डमा जाने तयारी थियो, भिसा आएन । डेढ वर्ष उनी एजेन्टकहाँ धाउदै रुमल्लिए । जहाँ राम्रो कमाइ हुन्छ त्यही जाने योजनामा उनी थिए ।

‘कहीं नभएपछि एजेन्टले अन्तिममा रुसको प्रलोभन देखाए । महिनामै ४/५ लाख रुपैयाँ कमाइ हुन्छ भनेपछि जान तयार भए’, बद्री भन्छन्, ‘प्रोसेसिङ गरेको १५ दिनमै भिसा आयो । तर, गएर एक रुपैयाँ घर पठाउँन पाएन । २ महिना नपुग्दै सम्पर्क टुट्यो ।’

उनका अनुसार हरिले नेपालमा एजेन्टलाई ७ लाख रुपैयाँ तिरेर गएका हुन् । रुस छिर्नलाई त्यहाँका एजेन्टलाई १५ सय डलर बुझाएर मात्रै प्रवेश पाए । तर, नेपाल कहिल्यै नर्फने गरेर युद्धको रणभूमिमा रगताम्मे हुँदै ढले ।

‘जस्ले रिक्स लिन्छ त्यो अगाडि बढ्छ’, हरिको फेसबुकमा पोस्ट छ । ‘उसको सपना डेन्जर ठाउँ भएपनि त्यहाँ गएर ४ वर्षजति बस्ने । महिनाको ४\५ लाख रुपैयाँ कमाइ हुन्छ त्यहाँबाट फर्केर आएपछि कहीं जानुपर्दैन भन्ने थियो’, हरिले निकटस्थसँग रुस जानुपहिले सुनाएको सम्झदै नातेदार बद्रीले सुनाए ।

उनका अनुसार हरिसहित नेपाली सेनाको जागिर छाडेका उनका ५ जना साथि सँगै रुसी सेनामा पुगेको थियो ।

योभन्दा पहिले स्याङजाकै पुतलीबजार नगरपालिका–५ का पितम कार्कीको पनि रुस–युक्रेनको युद्धमा मृत्यु भएको थियो ।

कार्कीले १६ वर्षे सेवापछि नेपाली सेनाबाट अवकाश लिएर रुसको बाटो तताएका थिए ।

प्रकाशित मिति २०८० पुस १९ गते बिहीबार ०८:४५
हजुरको प्रतिक्रिया