पोखरा
राष्ट्रिय सभा चुनावका लागि भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर, अहिलेसम्म सत्ता गठबन्धनले सिटको बाँडफाँट टुंगो लगाउन सकेको छैन ।
हिजो मध्य रातसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेपनि सत्तासिन दलहरुहरुमा सहमति हुन सकेन । सिट बाँडफाँटको लागि आज आज बिहान फेरि बैठक बस्दैछ । सत्ता गठबन्धनसँग कुरा नमिलेपछि एमालले १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
निर्वाचन आयोगले मनोनयनका लागि पुस २३ गते सोमबारलाई मिति तोकिसकेको छ । त्यसै अनुसार निर्वाचन अधिकृतको कार्यालय खुलेर काम पनि थालिसकेको छ । शनिबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले १३, नेकपा (माओवादी केन्द्र) ले ७, नेकपा (एकीकृत समाजवादी) ले ५ र जनता समाजवादी पार्टी (जसपा) ले ४ सिटमा दाबी गरेकोे बैठकका सहभागीले बताएका छन् ।
आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशबाट ३ जना नयाँ सांसद निर्वाचित हुँदैछन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित प्रकाश पन्थ र दीपा गुरुङको ६ वर्षे कार्यकाल सकिन लागेको हो । उनीहरूको ठाउँमा हुने निर्वाचन मार्फत पुनः ६ वर्षका लागि सांसद निर्वाचित हुनेछन् । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहबीच सिट बाँडफाँट हुने बताए ।
प्रकाशित मिति २०८० पुस २२ गते आइतबार ०७:४९




