२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय सभा चुनावमा आज उम्मेदवारी, गण्डकीमा ३ सिटमा चुनाव हुँदै

राष्ट्रिय सभा चुनावमा आज उम्मेदवारी, गण्डकीमा ३ सिटमा चुनाव हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २३ गते सोमबार ०७:५६

गण्डकीमा कांग्रेसको वर्चश्च भएकाले गठबन्धनकै उम्मेदवार विजयी हुने निश्चित छ ।

पोखरा

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदैछ । रिक्त १९ पदमा माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न लागिएको हो । प्रदेश निर्वाचन कार्यालय गण्डकीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयसहित सात वटै प्रदेशमा उम्मेदवारी मनोनयनको व्यवस्था मिलाइएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । गण्डकी प्रदेशमा तीन सिटमा निर्वाचन हुँदैछ । गण्डकीबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित प्रकाश पन्थ र दीपा गुरुङको ६ वर्षे कार्यकाल सकिन लागेकोले निर्वाचन हुने भएको हो । गण्डकी प्रदेशबाट ३ सदस्य निर्वाचित हुनेमा सत्तासिन दलहरुले भागबण्डा मिलाउँदा २ पद कांग्रेसको भागमा परेको छ भने १ पद माओवादीले लिएको छ ।

नेपाली कांग्रेसले २ सिटमा गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई उम्मेदवार बनाउने भएको छ भने माओवादीले पर्वतकी मनरुपा शर्मालाई टिकट दिएको छ । गण्डकीमा कांग्रेसको वर्चश्च भएकाले गठबन्धनकै उम्मेदवार विजयी हुने निश्चित छ । एमालेले गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपांगता र अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा २ हजार ४७ जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जनाले मतदान गर्ने भएका हुन् । गण्डकीमा ६० प्रदेशसभा सदस्य र १७० स्थानीय तहका जनप्रतिनिधि गरी २३० ले मतदान गर्नेछन् । यसैबीच सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी टुंगो लागेको छ ।

प्रकाशित मिति २०८० पुस २३ गते सोमबार ०७:५६
हजुरको प्रतिक्रिया