पोखरा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गरिएको विद्युत व्यापार सम्झौताले जलस्रोतमा भारतको एकाधिकार हुन सक्ने बताएका छन् । कुनै एक राष्ट्रको एकाधिकार हुने गरि जलस्रोतको विकास जोखिमपूर्ण हुने उनको टिप्पणी छ ।
मंगलबार पोखरामा भएको पत्रकार भेटघाटमा अध्यक्ष थापाले भारतीय दूतावासले सिघैं २० करोड रुपैयाँसम्मका आयोजनामा लगानी गर्न सक्ने सम्झौताले नेपालमा भारतको समानन्तर सरकारको झल्को दिएको जिकिर गरे ।
‘यो सम्झौता अत्यन्तै आपत्तिजनक छ । यसले समानन्तर सरकारको झझल्को दिन्छ । नेपालको राष्ट्रियता र सार्वभौमत्तालाई कमजोर बनाउँछ भन्ने हाम्रो निष्कर्ष छ’, उनले भने ।
सम्झौता कार्यन्वयन अगावै खारेज गर्नुपर्ने थापाको माग छ ।
भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणमा महत्वपूर्ण विषयको उठान हुनै नसकेको उनको भनाइ छ । ‘केही महत्वपूर्ण विषयको उठान हुनै सकेन । त्यसले सरकारको निरीहता प्रदर्शन गरेको छ’, अध्यक्ष थापाले भने, ‘बहुचर्चित इपिजी, १९५० को सन्धीको पुनरावलोकन, सिमा विवाद लगायतका विषयमा सरकार मौन रहनुले निरीहतालाई प्रदर्शित गरेको छ ।’
उनले राष्ट्रियसभामा पटक पटक अवसर पाएका र प्रतिनिधि सभाको निर्वाचनमा हार व्यहोरेकालाई उम्मेदवार बनाएर ठूला दलले संविधनाको खिल्ली उडाएको बताए ।
संविधानको मर्म र भावनाको उपहास हुने गरेर उम्मेदवार छनोट गरेको थापाको आरोप छ ।
‘राष्ट्रिय सभा भनेको सिमान्तकृत, अल्पसंख्यक र विज्ञहरुको सहभागिता रहनुपर्ने संसद हो । तर, प्रमुख राजनीतिक दलहरुले गत निर्वाचनमा पराजित भएका पटक पटक अवसर पाएका व्यक्तिहरुलाई उम्मेदवारको रुपमा मनोनयन गर्नु अल्पसंख्यक, सिमान्तकृत र समावेशी प्रतिनिधित्वलाई उपेक्षा गर्नु अत्यन्तै आपत्तिजनक रहेको छ’, उनले भने ।
संघीय गणतन्त्रमाथि सबैतिर प्रहार भइरहेको गुनासो गर्ने ठूला दलका गतिविधिले नै संघीय गणतन्त्रको औचित्यलाई समाप्त पारेको उनको जिकिर छ ।
उनले अहिलेको व्यवस्था परिवर्तन अपरिहार्य भएको बताए । ‘विकल्पमा सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र । राजसंस्थासहितको प्रजातन्त्र । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री । प्रदेशस्तरीय संरचनाको खारेज गरी केन्द्र र स्थानीय सरकार गरी २ तहको सरकार रहने व्यवस्था कायम गरिनुपर्दछ’,उनले भने ।
उनले व्यवस्थासँगै राजनीतिक दलका नेता फेर्नुपर्ने बताए । सीमित दलले राज्य संयन्त्रमा सिन्डिकेट गरेर अखुत भ्रष्टार गरिरहेको अध्यक्ष थापाको दाबी छ । ‘त्यहीं सम्पत्ति दुरुपयोग गरेर नयाँ शक्तिलाई चुनावमा जित्नै दिदैनन्’, उनले आरोप लगाए ।
प्रकाशित मिति २०८० पुस २४ गते मंगलबार १२:४६




