पाेखरा
बाहिरी जिल्लाबाट पोखरामा दुध ल्याएर स्थानीय भन्दै बिक्रिवितरण भइरहेको भन्दै नेपाल डेरी फामर्स संघ र राष्ट्रिय पशुपालन तथा दुध उत्पादक कृषक संघले आपत्ति जनाएको छ ।
डेरी फार्मस् र दुध उत्पादक संघले मंगलबार पोखरामा संयुक्त पत्रकार सम्मेलन गरी पोखरामा बाहिरी जिल्लाबाट ल्याएर यहाँको स्थानीय भन्दै बिक्रिवितरण गर्दा आफूहरु मर्कामा परेको बताएका हुन् ।
डेरी फार्मसका अध्यक्ष दीपक तिमिल्सिनाले पछिल्लो समय तराईबाट दुध पोखरा ल्याउने र गुणस्तर मापन नगरी बेच्दा किसानहरु मर्कामा परेको बताए ।
उनले जिल्ला बाहिरबाट दुध ल्याएर बिक्रिवितरण गर्दा कास्कीका ५० प्रतिशतभन्दा बढी व्यवसायिक फर्म विस्थापन भइसकेको दाबी गरे ।
बाहिरको गुणस्तरहीन दुध ल्याएर पोखरामा बिक्रि गर्दा स्थानीय किसानको उत्पादनमा गुणस्तरीयतामाथि प्रश्न चिन्ह खडा भएको र उपभोक्ता पनि ठगी भइरहेको दाबी संघको छ ।
तिमिल्सिनाका अनुसार पोखरामा दैनिक ४१ हजार लिटर दुध माग हुँदै आएको छ ।
त्यसमध्ये पोखरामा व्यवसायिक रुपमा खोलेका दुग्ध फार्मबाट ३४ हजार लिटर दुध उत्पादन हुँदै आएको छ ।
पोखरा महानगरको पशु सेवा विभाग अधिकृत नवराज अधिकारीले पोखरामा व्यक्तिगत तथा व्यावसायिक फार्म गरी दैनिक ८० हजार लिटर दुध उत्पादन हुँदै आएको जानकारी दिए ।
महानगरको तथ्यांकअनुसार हाल ९ सय ३४ किसानले दुध उत्पादन गर्दै आएका छन् ।
अधिकारीले प्रशोधित दुधभन्दा स्थानीय दुध गुणस्तरीय हुने जनमानसमा परेको हुनाले बजारमा स्थानीय दुधको नाममा दुध बिक्रिवितरण बढेको हुन सक्ने बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले व्यवसायीले भनेजस्तो बाहिरबाट ल्याइएको दुध परीक्षणका क्रममा गुणस्तरहीन नभएको बताएको छ ।
विभागका अधिकृतका अनुसार नमुनाका रुपमा गरिएका परीक्षणमा कुनै पनि दुधमा समस्या नदेखिएको बताए ।
प्रकाशित मिति २०८० पुस २४ गते मंगलबार ०६:२६




