पोखरा
राष्ट्र निर्माताको पहिचान बनाएका पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती पोखरामा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत धार्मिक र जातिय संघसंस्थाले पोखरामा पृथ्वीजयन्त्ती विशेष कार्यक्रम गरेका हुन् ।
पृथ्वी जयन्त्तीको अवसरमा सडकमा ¥यालीसमेत निकालियो । पञ्चबाजाको साथमा भजनकिर्तन, नारा जुलुस गर्दै ¥याली निकालिएको हो ।
चिप्लेढुंगादेखि पृथ्वीचोकसम्म राष्ट्रिय गौरव अभियानले ¥यालि निकालेको थियो ।
यस्तै, अमरसिंहचौरदेखि पृथ्वीचोकसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले र विरौटादेखि पृथ्वीचोकसम्म ठकुरी समाजको आह्वानमा ¥याली निकालिएका हो ।
पृथ्वीचोकमा पुगेर ‘राष्ट्र निर्माण’ कार्यक्रममा परिणत भएको थियो । ‘राष्ट्र निर्माण’ अन्तरक्रियामा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ र लेखक तथा इतिहासविद् हरिप्रसाद सोडारीले विचार प्रस्तुत गरे ।
पृथ्वीचोकको हाइमास्ट बत्तीको पोलमा पृथ्वीनारायण शाहको तस्बिर राखिएको छ । पृथ्वीचोकमा लखन थापाको शालिकसँगै पृथ्वीनारायण शाहको प्रतिमा थियो ।
गत वर्ष राष्ट्रिय एकता दीवसकै दिन राखिएको प्रतिमा २९ औं आदीवासी दिवसको दिन गत साउन २४ गते एकाएक गायब भयो ।
२०६२/६३ को जनआन्दोलनको बेला पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक तोडफोड भएको थियो । पृथ्वीनारायण शाहको शालिक हाल पोखरा महानगरपालिकाले जामनुबोटमा निर्माण गरेको शहीद स्मृति पार्कमा व्यवस्थापन गरिएको छ ।
शुक्रबार राप्रपाका नेता कार्यकर्ता पोखरा–१८ जामुनबोट पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपाका तर्फबाट गण्डकी प्रदेश सांसद बनेका पञ्चराम गुरुङ, कास्की राप्रपाका पुराना नेता नारायण गुरुङसहितका नेता, कार्यकर्ता जामुनबोट पुगेर राष्ट्रनिर्माताप्रति श्रद्धा व्यक्त गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए ।









प्रकाशित मिति २०८० पुस २७ गते शुक्रबार ०४:३६




