जापान
नेकपा (माओवादीकेन्द्र) निकट नेपाली जनप्रगतिशील मन्च जापानको नवौं राष्ट्रिय महाधिवेशनले सरोकारवालाको सामाजिक सञ्जाल तताएकोमात्रै छैन, चहलपहल पनि बढिरहेको छ ।
मन्चले यसअघि जापानका विभिन्न ७ वटा क्षेत्रमा सम्मेलनमार्फत क्षेत्रीय कमिटीहरुको निर्माण गरिसकेको छ ।
मञ्चको नवौं राष्ट्रिय महाधिवेशन जनवरी २८ तारिखमा जापानको टोकियोमा हुँदैछ ।
महाधिवेशनको तयारी कस्तो छ ? महाधिवेशनले यसपटक कस्तो नेतृत्वको चयन गर्ला ? आम नेपालीहरुमा संगठनको प्रभाव कस्तो छ ? जापानमा भएका अन्य संगठनसँगकाे सम्वन्ध कस्तो छ र भावी योजना केके छन् भन्ने विषयमा पब्लिककर्मी रामचन्द्र राईले नेपाली जन प्रगतिशील मन्च जापानका अध्यक्ष भवानी पन्तसँग गरेको कुराकानीको सम्पादित अंश ।
हेर्दाहेर्दै २ वर्षे कार्यकाल पनि सकिन लाग्यो । तपाईंले आफ्नो यो कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?
विगत २ वर्षको अवधिलाई फर्केर हेर्दा टुटेका कडीहरु जोड्दै, अन्य साथीहरुलाइ पनि संगठित गर्दै नवौं अधिवेशनसम्म आइपुग्दा जापानका सातैवटा क्षेत्रलाई जुझारु मजबुत् रुपमा स्थापित गर्न सकेका छौं ।
व्यक्तिगत हिसाबले तपाईंको कार्यकाललाई सफल भन्नुहुन्छ या अझै गर्न बाँकी छ भन्ने ठान्नुहुन्छ ?
व्यक्तिगत रुपमा भन्नपर्दा, जापानस्थित नेपालीहरुबीचको सामाजिक हातेमालो र सँगै हाम्रो उपस्थितिलाइ हेर्दा २ वर्षे कार्यकाल सफल भएकोछ भन्ने नै निचोड हो ।
जनवरी २८ तारिख हुने भनिएको राष्ट्रिय महाधिवेशनको तयारी कहाँसम्म पुगेकोछ ?
राष्ट्रिय महाधिवेशन पूर्व हामीले ७ वटा क्षेत्रको अधिवेशन गरिसकेका छौं । त्यसपश्चात केन्द्रीय अधिवेशन सम्पन्न गर्नकाे गर्न आवश्यक न्यूनतम विभिन्न तयारीको अन्तिम चरणमा छौं ।
अब २८ तारिख हाम्रा सुभचिन्तकहरु, जापानबासी नेपाली समुदायहरुबीच अझै बलियो नेतृत्वसहित आउने तरिकाले अधिवेशनको केही काम गरिरहेका छौं । केही काम तयारीकै क्रममा छौं ।
तयारीको तामझाम हेर्दा निकै खर्च हुने देखिन्छ । तपाईंहरुले कार्यक्रमका लागि खर्चको चाँजोपाँजो कसरी गर्नुभएको छ ?
सामान्य बनाएर प्रचारको पोस्टरहरु बनाउने कुरा कत्तिनै खर्च छ र ? त्यो हामी आफैँले गरिरहेका छौं । सस्तो सिटीहल लिएर कार्यक्रम गर्न गइरहेका छौं । त्यत्ति धेरै खर्चिलो अधिवेशन हामीले गरिरहेका छैनौं । जापानमा सबैका सामू पुग्ने संगठन पनि हो ।
आन्तरिक शुभचिन्तकहरुको आन्तरिक स्रोत परिचालन गरेर कार्यक्रम गर्न गइरहेका छौं ।
तपाईंहरुले नेपालबाट प्रवास सहइन्चार्ज लक्ष्मण पन्त तथा प्रवास इन्जार्च ओम शर्मालाई पनि ल्याउँदै हुनुहुन्छ ?
हैन, जनप्रगतिशील मञ्च जापानको अन्तर्राष्ट्रिय सञ्जाल प्रवास समन्वय समिति मातहतमा हामी रहेको हुँदा प्रवास समन्वयबाट नेतृत्व गरेर आउने अग्रजहरुनै अधिकारिक व्यक्ति हुन् ।
तपाईंहरु राजधानी या यस आसपासका ठूला सहरमा रहनुभएपनि टाढा बाट सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकहरुको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
विगतको अनुभव हेर्दा संगठनलाई माया गर्ने साथीहरु इमान्दारितापूर्वक स्वतःस्फुर्त रुपमा आफ्नो व्यवस्थापन गर्दै आउनुभएकोछ । यो नै खुसीको कुरा हो ।
अहिले पनि स्व-व्यवस्थापन गरेर नै साथीहरु टोकियो आउँदै हुनुहुन्छ ।
म पनि नागोयामा छु । यसरी टाढाटाढाबाट संगठनप्रति लगाव राखेर साथीहरु आउँदै हुनुहुन्छ ।
हामीले संगठनलाई समाजसँग जोडेका छौं ।
पार्टी अध्यक्ष तथा अहिलेका प्रधानमन्त्री २ वर्ष पहिला जापान भ्रमणमा हुँदा सयौं नेपालीहरुकै बीच जापानबासी नेपालीहरुको समस्यालाई म आफैंले महामहिम राजदूतको अगाडि राखें । यो कुरालाई हामीले समाजसँग जोड्न सफल भयौँ ।
खासगरी नेपालीहरुको पासपोर्ट बनाउने घुम्ति सेवाबारे मैले कडा रुपमा कुरा राखेपछि महामहिम राजदूतले त्यही मञ्चबाट प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यसपश्चात यो घुम्ति शिविरको सेवाबाट आम नेपालीहरु लाभान्वित भइरहेका छन् ।
त्योचाहिँ अहिलेको हाम्रो उपलब्धी हो भन्ने लाग्छ ।
जुनरुपमा हामी विभक्त भएपनि विदेशमा त हामी पहिला नेपाली हौ । यो वा त्यो भन्ने संगठनको जरुरी चाहिँ किन पर्दोरहेछ विदेशमा ?
नेपालीहरुको एउटा साझा संस्था भए पुग्छ भन्ने त गरिन्छ नै । तर, त्यसको व्यवहारिकता कतिको वैज्ञानिक हुन्छ भन्ने वस्तुगत विषयप्रति म अलि अस्पष्ट नै छु ।
विषय के पनि हो भने विचार भावना मिल्ने साथीहरुबीच एकता भएर टिमको निर्माण हुनेकुरालाई अन्य रुपमा लिनु हुँदैन ।
कति संस्था छन् भन्ने गौण कुरा हो । भएका संस्थाहरु समाजमा जोडिएका छन् कि छैनन् ? नेपाली हरुका सुख दुःखमा जोडिएका छन कि छैनन् भन्ने कुरा प्रधान हो ।
तसर्थ संस्थाहरु कतिवटा भए भन्दापनि कुन संस्था समाजमा परेका दुखसुखमा जोडिएको छ ? कुन रुपमा जोडिएको छ ? भन्ने कुराहरु हेर्दा त्यो उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ ।
नेपालबाट अनेक सपना बोकेर जापान आएका कति विद्यार्थीहरु अनेक समस्यामा फसेर कतिपय त रित्तो हात अझ ऋणको भारी बोकेर फर्किनु परेको दुखद अवस्थामा छन् । बाँकी विभिन्न पेसा व्यवसायीहरुको समस्या एकातिर छँदैछ । त्यस्ता मानिसहरुका लागि चाहिँ तपाईंहरुको संगठनले कस्तो खाले कार्यक्रम चलाउँदै आएको छ ?
यो महत्वपूर्ण विषय हो ।
हामीले गत २०२३ अप्रिलमा जापान आउने विद्यार्थी भाइबहिनीहरुलाई लक्षित गरेर जनप्रगतिशील मञ्च हेल्प डेस्क सञ्चालन ग¥यौं । त्यो हेल्प डेस्कले जापानको प्रत्येक सहरमा करिब १ हजार विद्यार्थीलाई काम लगाइदिन सफल भयो ।
सेमिनारबाट धेरै विद्यार्थीले लाभ लिन सफल भए । भाइबहिनीहरुलाई पार्टटाइम जबसम्म नभएको अवस्थामा करिब एक हजारको संख्यामा काम लाउन हामी सफल भयौँ ।
त्योबेला विद्यार्थी भाइ बहिनीहरुलाई रेल स्टेसनसम्मै लिन गएर कम्पनीहरुसँग भेटाएर अन्तरर्वार्ता गराएर काम लगाइदिने सम्मका कामहरु हामीले गरेका छौँ । त्यो नै हाम्रो संगठन समाजसँग छ । जापानमा अप्ठ्यारोमा परेका विद्यार्थी भाइबहिनीहरुसँग संगठन छ भन्ने कुराको उदाहरण हो ।
भावी योजनाबारे चाहिँ के कुरालाई अगाडि बढाएर जानुपर्छ भन्ने छलफलमा हुनुहुन्छ ?
नेपालबाट सोच्दा जापानमात्रै ओर्लिन पाए हुन्थ्यो भन्ने जुन सोच छ त्यसलाई अलिकति रुपान्तरण गर्न जरुरी छ । भोलिका दिनहरुमा हाम्रो संस्थाले यी चिजहरुलाई प्रथमिकतामा राख्नुपर्छ भन्ने लाग्छ ।
नेपालबाट जापान आउँदा केके कुरा जरुरी छ भन्ने कुराहरुमा पूर्ण रुपमा प्रशिक्षित गरेर पठाउनुपर्छ ।
प्लस टु पास गरेर चियासम्म पकाएर खान नजान्ने भाइबहिनीहरु यहाँ आएर सबैकुरा आफैंले गर्नुपर्दा दुखद घटना घटिरहेका पनि छन् ।
त्यो चिजहरु हुन नदिन पूर्ण रुपमा प्रशिक्षित गरेर पठाउन जरुरी छ ।
नेपालमा उपलब्ध अनुभवीहरुले पनि सहि ढंगले प्रशिक्षित नगरी पठाएको पाइएकोछ । जापानको वस्तुगत अवस्था नेपालमै बुझाउन सकियो भनेमात्र सहि चिजको निर्माण हुन्छ । यस्ता कुराहरुमा ध्यानाकर्षण गर्नु जापानमा क्रियाशील विभिन्न संघ संस्थाहरुको पहिलो काम हो ।
कुनैपनि संगठनमा नभएका सामान्य युवाहरुको मत सामाजिक सञ्जालहरुमार्फत पढिरहेका छन् । उनीहरु त के भन्छन् भने हामीलाई पर्दा यी विभिन्न संघ वा संगठनले केही गर्दैनन् । उनीहरुको काम त मञ्चमा भाषण गर्नु र नमस्कार खानुमात्र हो भन्छन तपाईं के भन्नुहून्छ ?
त्यो हामीलाइ भन्दैनन् । नगर्ने संस्थाहरुलाई भन्छन्, हामीलाई होइन ।
हजारौं विद्यार्थीलाई काम लगाउने संस्था केही नगरेको हुन्छ ? महामहिम राजदूतलाई राखेर, नेपालीहरुलाई समस्या परेकोछ घुम्ति सेवा गर्नुपर्छ भन्ने आवाज उठाएर कार्यान्वयनको तहसम्म लैजाने कामलाई नगरेको भन्न मिल्छ ?
यहाँको एनआरएनएका साथीहरुसँग मिलेर हाम्रा साथीहरु भोलेन्टियर रुपमा खटिनुभएकोछ ।
हामीले दूरगामी महत्वका मागहरु राखेका छौँ । माग राखेपछि घुम्ति शिविर ६ महिनाभित्र सञ्चालन गछौं भन्ने राजदूतको प्रतिवद्धता मुताविक अहिले काम सुरु भइसकेको छ ।
समाज भित्र यी र यस्ता ठाउँहरुमा भौतिक तथा नैतिक रुपमा हामी उपस्थित हुनु भनेको हाम्रा सामाजिक कामका उदाहरण हुन् ।
सामाजिक होस् या राजनीतिक देश विदेश जहाँ हेरेपनि युवाहरुमा व्यापक वितृष्णा र निराशा छ, यस्तो किन भएको होला ?
सामाजिक सञ्जालको जमानामा तरलता हुनु र नयाँमा बढी अपेक्षा हुनु स्वभाविक पनि हो ।
अन्ततः अनुभवी हुनुपर्छ भन्ने नै हो फेरि । नेपालका अनेक राजनीतिक परिघटना वा अन्य परिघटनाहरु ले यही नै पुष्टि गर्दै आएको छ ।
क्षणिक चिजमा त्यो आउनुलाई स्वभाविक रुपमा लिनुपर्छ । फेरि कालान्तरमा सत्य एउटै हुन्छ ।
यो नवौँ अधिवेशनले तपाईंको नेतृत्वलाई निरन्तरता दिन्छ या पुरै नयाँ सेट बन्छ ? निर्वाचनमा जाने सम्भावना कति छ ?
अधिवेशन सम्पन्न गर्नेतर्फ उन्मुख भइरहेको अवस्थामा नेतृत्वको धेरै ठूलो बहस भइरहेको छैन । हामी स्वतःस्फुर्त नेतृत्वको स्थापित गर्छौं ।
जे गर्छौं त्यो हलले गर्छ । संगठनको निश्चित नम्सहरु छन् । तिनै भित्र रहेर हामी अधिवेशन गर्छौं ।
पक्कै पनि ७ वटै क्षत्रलाई नेतृत्व गर्न र समन्वय गर्नसक्ने साथीहरुलाई जिम्मेवारी हस्तान्तरण गरेर अधिवेशन सम्पन्न हुन्छ ।
तपाईंको कार्यकालबाहेक भावी दिनहरुमा संगठनले गर्नपर्ने छुटेका कामहरु यी हुन् भन्ने तपाईंलाई लागेको केही छ ?
संगठनलाई सामाजिक रुपमा स्थापित गर्ने काम भएको छ ।
भावी दिनमा नेपालबाट आउने भाइबैनीहरुलाई उचित ओरियन्टेसनको आवश्यकता छ । त्यो काम आउने नेतृत्व र अन्य संघ संस्थाहरुसँग मिलेर गर्ने कुरा भयो ।
वर्तमान अवस्थामा एनआरएनएसँगको समन्वय, जापानस्थित नेपाली संघ संस्थाहरुसँगको समन्वय पूर्णरुपमा गरिरहेका छौं ।
भोलिका दिनहरुमा पनि सामाजिक रुपमा परेका घटनाक्रम हरुमा होस्टेमा हैंसे गर्दै हाम्रो संस्थालाई बलियो रुपमा उभ्याउनुपर्छ र भोलिको नेतृत्वले यहीकुरालाई ध्यान दिनुपर्दछ भन्ने कुरा नै मेरो मत हो ।
प्रकाशित मिति २०८० पुस २९ गते आइतबार ०२:१४




