पालिकामा जनप्रतिनिधिले लगाए ताला
पोखरा
बागलुङको तमानखोला गाउँपालिकाले बागलुङ नगरपालिकामा भन्ने भनिएको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय भवन बनाउन बजेट विनियोजन गरेको छ ।
पुस २९ गतेदेखि सुरु भएको पालिकाको हिउँदे अधिवेशनले पार्टी कार्यालय भवन बनाउन १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
पालिकाले अर्को पालिकामा अमूक पार्टीको पार्टी कार्यालय बनाउन बजेट विनियोजन गरेपछि नेकपा माओवादीका जनप्रतिनिधिले विरोध जनाएका छन् ।
बजेट विनियोजन निर्णय फिर्ता गर्न विरोध जनाउँदै उनीहरुले बिहीबार तमानखोला गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
तमानखोला गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष छप्रसाद श्रिपालीले हिउँदे सभामा आफूहरुले असहमति राख्दाराख्दै पेलेर निर्णय गरेकाले आफूहरुले बाध्य भएर पालिकामा तालाबन्दी गर्नुपरेको बताए ।
‘पुस २९ गतेदेखि सभा सुरु भयो । त्यो दिन पनि हामीले विरोध जनायौं । तर, माघ ४ गते उहाँहरुले हामीलाई बाहिर निकालेरै निर्णय गर्नुभयो,’ उनले भने ।
श्रिपालीले आफूहरुले ‘नोट अफ डिसेन्ट’ लेख्न पाउनुपर्ने मागसहित उभिएर विरोध जनाउँदा सभाबाटै बाहिर निकालिएको दाबी गरेका छन् ।
तमानखोलाको नगरसभामा पालिका अध्यक्ष, उपाध्यक्षसहित नेपाली कांग्रेसको बहुमत छ ।
नेपाली कांग्रेसका २३ जना सभा सदस्य छन् भने नेकपा माओवादीका ११ जना सभा सदस्य छन् ।
तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले पालिकाले पार्टी कार्यालय नभई विपी स्मृति प्रतिष्ठानको भवन बनाउन बजेट विनियोजन गरिएको बताए । उक्त भवन बागलुङ नगरपालिकामा नेपाली कांग्रेस जिल्ला कमिटीले बनाउने उनले जानकारी दिए ।
बुढामगरले नगर सभाको बैठकमा असन्तुष्ट पक्षले तालाबन्दी गरेको र खुलाउन आफूहरु छलफलमै रहेको जानकारी दिएका छन् ।
‘बैठकको निर्णयमा उहाँहरुको केही असहमति थियो । सभामा उपस्थित बहुमत सदस्यहरुले पारित गर्नुभएको हो,’ उनले भने ।
अध्यक्ष मगरले नेकपा माओवादीका जनप्रतिनिधिहरुले भनेजस्तो आफूहरुले सभाबाट ननिकालेको दाबी गरेका छन् ।
पालिकामा ‘नोट अफ डिसेन्ट’को गलत अभ्यास सुरु नगर्न आफूहरुले रोक लगाएको पालिका अध्यक्ष मगरको भनाइ छ ।
प्रकाशित मिति २०८० माघ ५ गते शुक्रबार ०२:२५




