२०८३ असोज २४ गते शनिबार

तातोपानी कुण्डमा स्नान गर्न डेढ दशकदेखि काठे साँघुको भर

तातोपानी कुण्डमा स्नान गर्न डेढ दशकदेखि काठे साँघुको भर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ६ गते शनिबार १०:३२

काठेसाँघुको प्रयोग गरेर सडकबाट ५ मिनेटमै कुण्डमा आउन सकिन्छ । एउटा झोलुङ्घे पुलसमेत नहुदाँ पर्यटक र बिरामीलाई बर्खाको समयमा घुमाउरो र साँधुरो पदैलमार्गबाट कुण्डमा जानुपर्ने बाध्यता रहेको छ ।

म्याग्दी ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्वार तातोपानी कुण्डमा स्नान गर्ने बिरामी र अवलोकनका लागि जानेले हिउँदको समयमा वारपार गर्न काठेसाँघु निर्माण गरिएको छ ।

अन्नपूर्ण गापा–२ भुरुङ तातोपानीदेखि पारी पाउद्वारको पुछारमा रहेको तातोपानी कुण्डमा पछिल्लो समय विभिन्न रोगका बिरामीको चाप बढ्दै जान थालेपछि बेनी–जोमसोम सडकखण्ड अन्तरगत भुरुङ तातोपानी नजिकबाट कुण्डमा पुग्ने गरी अस्थायी साँघु निर्माण गरिएको हो ।

एक लाख खर्चिएर काठेसाँघु बनाइएकोमा हरेक बर्ष कालिगण्डकीको सतह बढेपछि बगाउने गर्छ । काठेसाँघुको प्रयोग गरेर सडकबाट ५ मिनेटमै कुण्डमा आउन सकिन्छ । एउटा झोलुङ्घे पुलसमेत नहुदाँ पर्यटक र बिरामीलाई बर्खाको समयमा घुमाउरो र साँधुरो पदैलमार्गबाट कुण्डमा जानुपर्ने बाध्यता रहेको छ । सामान्य संरचना तयार गरेर कुण्डको प्रयोग हुन थालेपछि डेढ दशकदेखि स्थानीय समुदायले काठेसाँघुको प्रयोग गर्ने गरेका थिए ।

काठेसाँघुमा काठका फ्ल्याक, बाँस र ग्याबियन झाली प्रयोग गरिएको छ । बालबालिकादेखि बृद्धबृद्धासम्म दैनिक आवतजावत गर्ने भएकाले दायाँबायाँ काठकै रेलिङ हालिएको छ । पाउद्वार तातोपानी कुण्डलाई गाउँपालिकाले वार्षिक रूपमा २३ लाखको ठेक्का लगाएको तातोपानी कुण्डका सञ्चालक डेमबहादुर तिलिजा पुनले बताए ।

कुण्डमा चोटपटक लागेको, सर्केमर्केको, ग्यास्ट्रिक, चिसोका कारण लागेको रोग, गानोगोलालगायत समस्या भएका बिरामीका उपचारका लागि कुण्डमा स्नान गर्न आउने र एकहप्तामा निको भएर फर्किने गरेका छन् । पानीको तापक्रम ६८ डिग्री सेल्सियस छ ।

मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटक पनि कुण्डमा स्नान गर्न जाने भएकाले पर्यटकको समेत चाप लाग्ने गरेको छ ।

प्रकाशित मिति २०८० माघ ६ गते शनिबार १०:३२

हजुरको प्रतिक्रिया